महामारी बन्दै अफ्रिकन स्वाइन फिभर, साउनयता मात्रै एक हजार पशु मरे

माघ ६, २०८१ |बालकृष्ण अधिकारी|सुमन पन्थ
महामारी बन्दै अफ्रिकन स्वाइन फिभर, साउनयता मात्रै एक हजार पशु मरे

काठमाडौं । दुई वर्षदेखि सुँगुर, बंगुर तथा बँदेलमा देखिँदै आएको अफ्रिकन स्वाइन फिभरले यो वर्ष पनि महामारीको रूप लिएको छ । पछिल्लो समय बागमती, गण्डकी र सुदूरपश्चिमका जिल्लामा देखिएको यो रोगबाट साउनयता मात्रै एक हजार पशु मरेका छन् ।

पशुसेवा विभागले यो रोगको खोप विकास नभएकाले जैविक सुरक्षामा ध्यान दिन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

हेटौंडाका सूर्यबहादुर अधिकारीले पालेका ९० वटा बंगुर गत हप्ता मरे । अफ्रिकन स्वाइन फिभरको संक्रमणले गोठै रित्तिएपछि अधिकारी अहिले कसरी पुनःस्थापित हुने भन्ने चिन्तामा हुनुहुन्छ ।

अफ्रिकन स्वाइन फिभर नेपालमा पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएको हो । यसको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, कान, पुच्छर तथा पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो दाग देखिने, खाना नखाने, श्वास फेर्न गाह्रो हुने, बान्ता गर्ने, छट्पटाउने जस्ता लक्षण देखिने गरेका छन् । तर अहिलेसम्म यो रोगको भरपर्दो खोप विकास भएको छैन ।

विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न संक्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । अफ्रिकन स्वाइन फिभरबाट यो वर्ष एक हजारभन्दा बढी सुँगुर तथा बंगुर मरेका छन्, जसमध्ये सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा देखिएको छ । गत वर्ष ६० हजारभन्दा धेरै मरेका थिए । तर सरकारले सुँगुर, बंगुर पालेर जीविकोपार्जन गर्दै आएका किसानलाई पुनःस्थापनाको प्याकेज अझै ल्याउन सकेको छैन ।

नेपालको कुल मासु उत्पादनमा सुँगुर तथा बंगुरको हिस्सा ६ प्रतिशतभन्दा बढी छ । तर, महामारी फैलँदा यसको राष्ट्रिय उत्पादन बढाएर आन्तरिक बजार र निर्यात गर्नेसम्मको योजनामा ठेस पुगेको छ । संक्रमण देखिएका जिल्लामा उत्पादित पशुको ओसारपसारमा कडाइ गर्नुपर्ने भए पनि सरकारी निकायले ध्यान दिन सकेका छैनन् । 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।

Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement