थारू समुदायले टुँडिखेलमा माघी महोत्सव मनाउने

पुस २६, २०८१ |प्रदीप लेखी
थारू समुदायले टुँडिखेलमा माघी महोत्सव मनाउने

काठमाडौं । थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारू कल्‍याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौं । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौं । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौं भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौं।’

उहाँका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्नुहुनेछ । यसवर्ष 'थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान' भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो ।

आयोजकका अनुसार पुस २७ गते शनिबार बिहान ७ बजे मोटरसाईकल र्याली निकालिने छ । माघ १ गते बिहान १० बजे थारू संस्कृति, भेषभूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित झाँकी र्याली प्रदर्शन गरिने छ । यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा नृत्य तथा गीतहरुको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार, ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, जस्ता विभिन्न परिकार रहनेछन् ।  

हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री वितरणमा थारू हस्तकला तथा थारू जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement