काठमाडौं । समयमै स्वास्थ्य सेवा नपाउँदा बझाङमा पुस २२ गते २१ वर्षकी सबिता बोहोराको सुत्केरी हुने क्रममा मृत्यु भयो । स्वास्थ्य संस्था लैजादै गर्दा सडकमा छटपटाएको हृदयविदारक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर, घटनाको ३ दिन बितिसक्दा पनि यसबारे न प्रदेश सरकारलाई सरोकार छ, न संघीय सरकारलाई चासो । स्वास्थ्य केन्द्र र दक्ष चिकित्सक अभावसँगै सहज यातायातको पहुँच नहुँदा सुत्केरी हुने क्रममा वर्षेनी कैयौं गर्भवती महिला र नवजात शिशुको ज्यान गैरहेको छ । तर यस्ता घटनामा राज्यलाई कहीँकतै दुख्दैन । नत अरु कैयौं सबिताहरुको ज्यान बचाउन सरकार गम्भीर छ । दुर्गमका नागरिकका लागि सरकार भएर पनि नभएजस्तै भइरहेको छ ।
बझाङको केदारस्युँ गाउँपालिका १ डुँडिलकी २१ वर्षीया सविता बोहोराको सुत्केरी गराउन स्वास्थ्य संस्था लैजाने क्रममा यही पुस २२ बाटोमै निधन भयो । समय नपुगी जन्मिएका शिशुको पनि निधन भएको हो । सवितालाई स्वास्थ्य संस्था लैजान प्रयास गर्ने क्रममा बाटोमै निधन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटनाबारे नागरिकस्तरमा बहसहरु भइरहेका छन् । तर, घटनाको तीन दिन बित्दा पनि सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नै दिएको छैन । कान्तिपुर टेलिभिजनले सम्पर्क गर्दा बल्ल स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यसबारेमा बोल्नुभयो । तर दुर्गमका नागरिकमा स्वास्थ्य सेवाको पहुँच नपुग्नुमा जनशक्ति तथा बजेट अभाव, सरकारी निकायबीच समन्वय अभाव र जनचेतनाको अभावलाई दोष देखाउनु भयो।
‘संविधानमै मौलिक हकको रुपमा स्वास्थ्य लेखि सकेपछि सरकारले पहल गर्न प्रत्यक स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्यओजना अगाडी सारेको हो । साथै जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा फाइनल पठाउन थालेको एक दशक भयो । कुनै सुत्केरीले उपचार नपाएर ज्यान गुमाउन पर्छ भनेपछि त्यहाँ स्वास्थ्य उपचारको पहुँच छैन भन्ने हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले भन्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाई छ, जसले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत् निःशुल्क उद्धार गरी सुविधासम्पन्न अस्पताल पुर्याएर ज्यान जोगाउँदै आएको छ । २०७५/७६ यता ७ सयभन्दा बढी महिलाको उद्धार पनि गरिएको छ । तर, बझाङकी सविता बोहोराको हकमा सरकारको यो सेवा नभए बराबर भयो ।
आइतबार दिउँसोदेखि नै सुत्केरी व्यथाको संकेत देखिए पनि परिवारले समस्या भएपछि मात्रै स्वास्थ्य संस्था लैजान खोज्दा यो घटना भएको स्थानीयको भनाइ छ । सोमबार बिहान परिवारले सवितालाई चार बजेतिर स्वास्थ्य संस्था लैजान घरबाट हिँडाएको थियो । केही तल पुगिसके पछि पाँच बजेतिर उनले बाटोमै छोरालाई जन्म दिएकी थिइन् । तर डुँडिल गाउँबाट एक घण्टा टाढाको स्वास्थ्य केन्द्र लैजाने क्रममा अत्याधिक रक्तश्रावका कारण सविताको र चिसोले नवजात शिशुको मृत्यु भएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । डोटीको सिलगढी माइती भएकी सविताको गत वैशाखमा विवाह भएको थियो । मजदुरीका लागि भारतको बेंगलोर गएका श्रीमान, श्रीमतीको मृत्युको खबर सुनेपछि घर फर्कदै छन् ।
दुर्गममा बस्नेलाई अहिले पनि गर्भवती अवस्थामा नियमित चेकजाँच गर्ने, स्वास्थ्य संस्थामा नै गएर सुत्केरी गराउने जस्ता विषयमा जनचेतनाको अभाव छ । त्यसो त मातृशिशु स्वास्थ्यका नाममा बर्सेनि ठूलो रकम खर्च भइरहे पनि सही सदुपयोग नभएको र प्रकृया निकै झण्झटिलो हुँदा सेवा लिन नसकेको आम गुनासो छ । सरकारले कागजमा सेवा सुविधा देखाए पनि दुर्गमका महिला तथा शिशुले भने उपचार सेवा नपाएरै ज्यान गुमाउनु परिरहेको छ ।
यो पनि हेर्नुहोस :