आलु किसानले पाएनन् रासायनिक मल

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
आलु किसानले पाएनन् रासायनिक मल

मकवानपुर । आलु रोप्ने सिजन लागिसक्दा पनि डीएपी, युरिया लगायतका रासायनिक मल अभाव भएपछि आलुको पकेट क्षेत्र मकवानपुरका किसान समस्यामा परेका छन् । किसानहरू समस्या समाधान गरिदिन अनुरोध गर्दै बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालय पुगेका छन् ।

थाहा नगरबाट आएका किसानको टोलीले बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठलाई भेटेर मल उपलब्ध गराइदिन आग्रह गरेका छन् । छलफलका क्रममा मन्त्री श्रेष्ठले माघको अन्तिमसम्म डीएपी र युरिया मलको व्यवस्थापन भइसक्ने आश्वासन दिनुभयो ।

आलु रोप्न ड्याङ नै तयार भइसक्दा पनि किसानले मलको अभावमा आलु रोप्न सकेका छैनन् । अहिले निजी क्षेत्रका व्यापारीसँग महँगो मूल्यमा मल किनेर केही किसानहरूले आलु रोप्नुपरेको छ । मकवानपुरको थाहा नगरपालिका आलु उत्पादनको पकेट क्षेत्र समेत मानिन्छ ।

थाहा नगरका ९ हजार कृषक परिवार आलुखेतीमा आबद्ध छन् । थाहानगरको ७ सय हेक्टरमा आलुखेती हुँदा ७० हजार किलो आलुको बीउ रोप्ने गरेका छन् । यहाँका किसानले आलुबाट वार्षिक दुई अर्ब रुपैयाँ आम्दानी गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement