लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ : राष्ट्रपति पौडेल

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभई सामाजिक र आर्थिक रूपान्तरणमा समेत नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासंघले पुर्‍याएको योगदान सराहनीय भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– “स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ भएकाले नै हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । त्यही भएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।”

उहाँले सूचना प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउँदै सूचना प्राप्ति र सम्प्रेषणमा सजिलो भएसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुनसक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “सूचना प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न जति सहज बनेको छ सँगै यस क्षेत्रमा नयाँ नयाँ चुनौती पनि थपिँदै गएको छ । नागरिक पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसले सूचना सम्प्रेषण र प्राप्तिमा सजिलोसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी देखिएको छ ।”

उहाँले उपलब्ध नवीनतम् सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अंगको रूपमा रहेको सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठता जस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र सत्यको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीहरूलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषणमा कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि नवनिर्वाचित नेपाल पत्रकार महासंघको कार्यसमितिले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्ने विस्वास व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement