सप्तरी । पछिल्लो तीन दिनदेखि सप्तरी र सिरहा सहित आसपासका जिल्लाहरूमा अत्यधिक शीतलहर चल्न थालेको छ । पश्चिमबाट चल्ने सिरेटो र बाक्लो हुस्सुका कारण बालबालिका र वृद्धवृद्धामा चिसोको जोखिम बढेको छ ।
चिसोका कारण बिरामी भई सप्तरीका अस्पतालहरूमा उपचार गराउन आउनेमा बालबालिका र वृद्धवृद्धाको संख्या बढी देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हाल चिसोले प्रभावित भई दैनिक दुई दर्जनभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । चिसोले दैनिक ज्यालादारी मजदूरी गर्ने वर्ग, ग्रामिण क्षेत्रका गरिब तथा विपन्न स्थानीयलाई दैनिक गुजारा चलाउन समेत सकस भइरहेको छ ।
यता स्थानीय प्रशासन र पालिकाहरूले भने नागरिकलाई चिसोबाट जोगाउन अहिलेसम्म प्रभावकारी कार्यक्रम सुरू गर्न सकेका छैनन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले शीतलहर बढ्न थालेकाले अब सर्वसाधारणलाई आगो ताप्न दाउरा वितरण र बढी प्रभावितलाई न्यानो कपडा वितरणको तयारी भइरहेको जानकारी दिनुभयो ।