काठमाडौं । नेत्रविक्रम चन्दलाई आजभोलि सशस्त्र युद्धकालको आफ्नो नाम 'विप्लव'भन्दा नयाँ नाम 'विप्लव सी' अधिक प्रिय लाग्छ । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि मात्र मानिसहरूले उहाँको वास्तविक नाम नेत्रविक्रम चन्द भएको थाहा पाए । उहाँ ठकुरी हो भन्ने कुरा उहाँकै कतिपय सहकर्मीहरूलाई पनि थाहा थिएन । 'विप्लव' नामबाट विद्रोही नेताको परिचय बनाउनुभएका उहाँलाई अब आफ्नै पार्टी ( नेपाल कम्युनिष्ट पार्टी) का नेता तथा कार्यकर्ताले पनि 'विप्लव सी' भनेर सम्बोधन गर्ने गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सार्वजनिक मञ्चबाट उहाँलाई 'विप्लव सी' भनेर सम्बोधन गर्नुभएको थियो । त्यसो त नेकपामा पूर्णकालीन भएर लागेका धेरै कार्यकर्ताले पनि आफ्नो थर हटाएर 'सी'लाई प्रयोगमा ल्याएका छन् । 'सी' भनेको के हो भन्ने प्रश्नमा चन्द भन्नुहुन्छ – समानता । 'सी'को अर्थ कसरी समानता हो भन्ने उहाँले प्रष्ट पार्नुभएन । सक्नुभएन वा चाहनुभएन । तर, सबै जना समान छन् भन्ने भावना व्यक्त गर्नका लागि नेकपाका सबैले बोलाउने नामसँग 'सी' जोड्ने परम्परा सुरु गरेको उहाँको भनाइ छ । उसो त 'चन्द'को पहिलो अक्षर 'सी' हो । तर २०७९ मा सम्पन्न पार्टीको महाधिवेशनमै सबै नेता कार्यकर्ताले नाम फेर्ने प्रस्ताव चन्द आफैंले गर्नुभएको थियो ।
‘हामीले यो महाधिवेशनबाट नयाँ दृष्टिकोण मात्रै होइन, एउटा नयाँ जाति निर्माण गरेका छौं, कम्युनिष्ट साम्यवादी एउटा जाति निर्माण गरेका छौं । र, सबैले आफ्नो नामका पछाडि अनिवार्यरुपमा ‘सी’ लेख्ने छौं । म यो कुरा सगर्व घोषणा गर्दछु, अब विप्लव नेत्रविक्रम चन्द होइन विप्लव ‘सी’ हुने छ’, उहाँको प्रस्ताव थियो । महाधिवेशनले चन्दको प्रस्ताव अनुमोदन गरेपछि नेकपामा 'सी' युग सुरु भयो ।
२०६४ को संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिट जितेर सबैभन्दा ठूलो दल बनेपछि माओवादी सांसदहरू ठूलो सानका साथ संसद्मा प्रवेश गरेका थिए । भूमिगत कालमा समानताको अभ्यास गर्ने भन्दै गाउँ-गाउँमा जनसरकार गठन गरेको माओवादीका महिला-पुरुष सबै सांसद फिका खरानी रंगको सुटमा संसद् छिर्दा अरु दलका सांसदहरू हेरेका हेर्यै भएका थिए ।
सायद माओवादीले आफूले अभ्यास गर्न खोजेको समानता आवरणमा देखाउन चाहेको थियो । धेरै समय नटिकेको त्यो प्रदर्शनबारे चन्द हाँस्दै टिप्पणी गर्नुहुन्छ, 'तर माओवादी आफैं खरानी भयो।' पछिल्लो समय उहाँकै नेतृत्वमा रहेको नेकपाले माओवादीसँग एकता गर्ने समझदारी गरे पनि त्यो प्रक्रियाले मूर्त रूप लिन सकेको छैन ।
फायरसाइडमा चन्दले भन्नुभएको छ, 'माओवादी एकता प्रक्रियाप्रति उदासीन देखियो । प्रगतिशील शक्तिहरूलाई एक ठाउँमा ल्याउने कार्यमा माओवादीको कमजोरी देखियो ।' नेकपाको केन्द्रीय समिति बैठकले निर्णय नै गरेको छ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकताविरोधी देखिनुभयो । यस्तो निष्कर्ष निकालेको केन्द्रीय समिति बैठक कपिलवस्तुको शिवगढीमा बसेको थियो ।
बैठकमा सहभागी सदस्यहरू युनिफर्ममा देखिएका थिए । सेतो सर्ट, कालो पाइन्ट र कालो कोटमा सजिएर सदस्यहरु बैठकमा उपस्थित हुँदा त्यो कुनै कम्युनिष्ट पार्टीको बैठकभन्दा कर्पोरेट एजेन्सीको सेमिनार जस्तो देखिन्थ्यो । 'त्यो हामीले नै उत्पादन गरेको गार्मेन्ट हो', चन्द भन्नुहुन्छ, 'एकरूपताका लागि र हामी सबै सँगै छौं भन्ने सन्देशका लागि पनि हो ।'
राजनीतिलाई उत्पादनसँग नजोड्दा देश अगाडि बढ्न नसक्ने उहाँको बुझाइ छ । चन्दले थप्नुभयो, 'राजनीतिलाई उत्पादनसँग नजोड्ने हो भने हामी अगाडि बढ्न सक्दैनौं । नयाँ निर्माणको जुन प्रण गरेका छौं, त्यो सक्छौं कि सक्दैनौं त ? हामीले परीक्षण गरेका छौं र सफल पनि भएका छौं। ' विप्लभ समूहको नेतृत्वले उत्पादन गरेको युनिफर्म एक सेटको मूल्य ६ हजार पर्ने उहाँले बताउनुभयो । अहिले उहाँहरुको उत्पादन निकै राम्रो भएको र नाफामै रहेको चन्दको दाबी छ ।
एउटा समय थियो, चन्द नेतृत्वको पार्टीका कार्यकर्ताले चन्दा आतंक जारी राखेका थिए । सरकारसँग २०७७ फागुनमा तीन बुँदे सहमति गर्नुअघिसम्म पनि नेकपाका त्यस्ता गतिविधि जारी नै थिए । आज महासचिव चन्दको भनाइ फरक छ, 'कमसेकम खानलाई माग्न पर्दैन, पार्टी चलाउन चन्दा माग्न पर्दैन ।'
६ महिनापछि काठमाडौंमै आफ्ना उत्पादन बिक्रीका लागि स्टोर खोल्ने चन्दको योजना छ । 'काठमाडौंका मानिसले पनि हाम्रा उत्पादन खाऊन् न,' चन्द खुसी व्यक्त गर्दै भन्नुहुन्छ । पार्टीको आर्थिक दृष्टिकोणअनुरुप खेती सुरु गरेको नेकपाको भनाइ छ । 'नयाँ आर्थिक मार्ग अर्थात् न्यू इकोनोमिक ट्रयाक भनेर हामीले त्यसलाई संश्लेषण गरेका छौं । जसले हरेक नेता र कार्यकर्ता कुनै न कुनै आर्थिक क्रियाकलापमा सहभागी बनून् भनेर हामीले अनिवार्य गरेका छौं,' चन्दले भन्नुभयो ।
हाल नेकपाका ३ सय हाराहारी कार्यकर्ता खेतीपातीमा संलग्न छन् । आवश्यक परेका बेला पार्टीबाहिरका श्रमिकलाई पनि काम दिने गरिएको छ । चन्द आफैं पनि खेती कार्यमा लागेका तस्बिरहरु सार्वजनिक भइरहन्छन् । पहाडमा ३० बिघा र तराईमा १२० बिघाजति जमिन नेकपासँग रहेको छ । यसमध्ये अधिकांश जमिन नेकपाले लिजमा लिएको छ । यो सिजनमात्रै १७ सय क्विन्टल धान उत्पादन भएको छ । ५० बिघामा आलु लगाइएको छ । माछा, कुखुरा, भेडा, गाईबस्तु पनि पालिएको छ । भेडा थप्ने तयारी भइरहेको छ । 'यसको आनन्द छुट्टै छ,' चन्द मुस्कुराउनुहुन्छ ।
फायरसाइडमा उहाँलाई सोधिएको थियो – 'त्यसरी उत्पादन गरेको धान हतियारसहित आएको कुनै दस्ताले लुटेर लग्यो भने कति पीडा हुन्छ?'
चन्द जवाफ फर्काउनुहुन्छ – 'पीडा त हुन्छ । तर हामी त्यस्तो गर्न दिने छैनौं।'
हेर्नुहोस् चन्दसँगको पूरा संवाद फायरसाइडमा :