महिलाको सामूहिक जबर्जस्ती करणीपछि मोरङको जहदास्थित मुसहर बस्ती न्यायको लडाइँमा

दोषीलाई कारबाही र बस्तीमा सुरक्षा माग
पुस १२, २०८१ |सुशीला पाठक
महिलाको सामूहिक जबर्जस्ती करणीपछि मोरङको जहदास्थित मुसहर बस्ती न्यायको लडाइँमा

मोरङ । गत मंगलबार बिहानै शौच गर्न निस्किएकी मोरङको जहदा गाउँपालिका -३ की २४ वर्षीया महिलामाथि सामूहिक जबरजस्ती करणी भयो । तीन जना किशोरले अपहरण शैलीमा महिलाको हातखुट्टा बाँधेर सामूहिक जबरजस्ती करणी गरेपछि मुसहर बस्ती अहिले न्यायको लडाइँमा छ । पीडितका आफन्त र छिमेकीले अपराधीलाई कडा कारबाही र सुरक्षाको माग गरिरहेका छन् ।

मोरङको जहदा गाउँपालिका-३ की २४ वर्षीया महिलालाई मंगलबार बिहान शौच गर्न निस्किएका बेला तीन जना किशोरले मुख थुनेर सिटी सफारीमा राखे । अपहरण शैलीमा करिब डेढ किलोमिटर टाढा कटहरी गाउापालिका-२ स्थित बाँसको झ्याङमा पुर्‍याएर महिलामाथि सामूहिक जबजस्ती करणी भयो ।

घटनापछि एक सय घरपरिवार रहेको यो मुसहर बस्तीमा सन्नाटा छ । डर-त्रासले बस्तीका नागरिक अपरिचतसँग बोल्नसमेत डराउँछन् । पीडित महिलालाई हातखुट्टा बाँधेको र मुखमा कपडा कोचेको अर्धचेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापछि असुरक्षित महसुस गरी स्थानीय र पीडित महिलाका आफन्तले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

'गल्ती गर्नेले सजाय पाउनुपर्छ । इज्जत बर्बाद गरेको छ, सजाय त पाउनैपर्छ,' पीडितकी आमाले भन्नुभयो, 'दुईजना बच्चा छन् उनीहरूको जिन्दगीबारे पनि त सोच्नुपर्छ ।'

प्रहरीले अचेत अवस्थामा रहेकी पीडितको उद्धार गरेको थियो । अहिले विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेकी पीडितको स्वास्थ्यमा सुधार आएको छ । पीडितकै बयानका आधारमा प्रहरीले तीन जना किशोरलाई पक्राउ गरेको छ ।

कटहरी गाउँपालिका वडा-२ का दुई जना आरोपी १८ वर्षका छन् भने भारतको अररियाका अर्का आरोपी १९ वर्षे रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

आरोपतिहरूविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक, ज्यानमार्ने उद्योग र जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement