धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरकी करिब ५० वर्षीया रेशमीदेवी बिनको हत्या भएको छ । हत्या गरी शौचालय पछाडि गाडेको अवस्थामा रेशमीको शव बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।
गाडेको स्थानबाट शव गए राति निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिनुभयो । हत्या आरोपमा प्रहरीले मृतकका श्रीमान् दशैया मुखिया बिनलाई पक्राउ गरेको छ । दशैयाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा मदिराले लठ्ठिएका दशैयाले श्रीमतीको हत्या गरी शव गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक साहले बताउनुभयो। शव पोस्टमोर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।