भोजपुर । पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा बिहीबार बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ । भोजपुर नगरपालिका-५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ सडकबाट खस्दा दुर्घटना हुन पुगेको हो ।
चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो । घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका-६ का नवीनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले छन् । यस्तै, भोजपुर नगरपालिका-५ कि लाक्पादिकी शेर्पा, जुनुका राई र रामकुमार राई, झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घले र देवीकला घले, सुनसरीको धरान उपमहानगरपालिका-२ कि ईहायाराना सुब्बा र धरान-८ का चालक सुदीप लिम्बू घाइते भएका छन् ।
घाइतेमध्ये झम्कबहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल भोजपुर पुर्याइएको थियो । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।