भक्तपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको रोकिएका पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताउनुभएको छ । नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले राष्ट्रिय प्राणी उद्यानका पूर्वाधार निर्माण गर्न मन्त्रालय तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आगामी आर्थिक वर्षमा करिब एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । मन्त्री ठकुरीले भन्नभयो, “यो प्राणी उद्यानको विकल्प छैन, त्यसैले आगामी आर्थिक वर्षमा एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन मेरो प्रयत्न रहनेछ, यो आयोजना सफल पार्न म हरसम्भव प्रयास गर्नेछु ।”
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले राष्ट्रिय प्राणी उद्यानले मुलुकको पर्यटन विकासमा ठूलो योगदान दिने बताउँदै यसलाई छिटो सम्पन्न गर्न सरकारले चासो दिनुपर्ने बताउनुभयो । उहाँले यो परियोजनालाई ‘मेगा प्रोजेक्ट’को रुपमा लिएको बताउँदै पूर्वाधार निर्माणमा पूर्णता पाउने वित्तिकै सूर्यविनायक मात्रै नभइ देशलाई लाभ दिने बताउनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले आव ०७३/०७४ को बजेटमा ‘एक प्रदेश, एक प्राणी उद्यान’ स्थापना गर्ने नीति अनुसार काम थालेको भएपनि आठ वर्षपछि कार्यालयको भवन एउटा बनेको तर त्यसपछि थप काम हुन नसकेको बताउनुभयो । उहाँले सरकारले बनाउन नसक्ने भए कोषले दाताहरूबाट पुँजी संकलन गरेर निर्माण पूरा गर्न तयार रहेको बताउनुभयो । सरकारले ६० वर्षका लागि कोषलाई भाडामा दिएमा पाँचदेखि १० वर्षभित्रमा प्राणी उद्यानको सम्पूर्ण निर्माण सम्पन्न गर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय प्राणी उद्यानका प्रमुख भूपेन्द्र यादवले सरकारको उदासिनताका कारण निर्माण रोकिएको बताउदै यसलाई छिटो अघि बढाउन स्थानीय सरकार र सङ्घीय सरकारबीच सहकार्य गरी अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले छिटो निर्माण सम्पन्न गर्न मिडियाले पनि दबाब दिनु पर्नेमा जोड दिनुभयो । विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को निर्णयबाट प्राणी उद्यान निर्माणका लागि निर्देशन तयार पारेर दिएपनि पूर्वाधार निर्माण सुस्त गतिमा छ ।
भक्तपुरको सूर्यविनायक स्थित दुई ४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उक्त उद्यान अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा निर्माण गर्न लागिएको हो ।