भक्तपुरमा खोटाङ घर भएका बाबुछोराको हत्या

पुस ८, २०८१ |उत्तम चौलागाईं
भक्तपुरमा खोटाङ घर भएका बाबुछोराको हत्या

खोटाङ । खोटाङ घर भएका बाबुछोरा भक्तपुरको बालकोटमा मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१ घर भइ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन् ।

उनीहरुको शव हत्या भएको अवस्थामा देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको प्रहरीको भनाइ छ ।

मृतक दुवैको शरीरमा चोट देखिएको र अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिनुभयो ।

उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक बाबु जिल्ला हुलाक कार्यालय खोटाङका कार्यालय प्रमुख हुन् ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।