मुग्लिङ–नागढुंगा सडक आजबाट दैनिक तीन घण्टा बन्द हुने

पुस ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुग्लिङ–नागढुंगा सडक आजबाट दैनिक तीन घण्टा बन्द हुने

काठमाडौं । मुग्लिङ–नागढुंगा सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नति सहित घुम्ती लगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म सडक बन्द गरिने नागढुंगा–मुग्लिङ सडक आयोजनाले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनीयर विजय दराईका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेंसीमा रोकिने छ । विशालटार मोड सुधारका लागि मुग्लिङबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement