कास्की । सहकारीको बचत अपचलन आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्तासहितको टोली अहिले जिल्ला अदालत कास्की पुगेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्तासहित लामिछानेलगायतविरुद्ध अभियोगपत्र लगेर कास्की जिल्ला अदालत पुगेका हुन् ।कास्की प्रहरीले झण्डै ३ महिना लगाएर गरेको अनुसन्धानको प्रतिवेदन पुस १ गते सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रतिवेदन अध्ययन-विश्लेषण गर्न समय लाग्ने भएपछि त्यसको भोलिपल्ट अदालतले अन्तिमपटक ४ दिन म्याद थपको अनुमति दिएको थियो, जसको समयसीमा आज मध्यरातदेखि सकिँदैछ ।
शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै अभियोगपत्र दर्ता गर्न सरकारी वकिल कार्यालय अदालत पुगेको हो । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । सोही प्रकरणमा असोज ६ गते नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ गरिएको थियो।
लामिछाने र जोशीसमेत ५ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनअनुसार ५१ जना प्रतिवादीबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा कानुनबमोजिम ९० दिनभित्र अनुसन्धान कार्य पूरा गरेर अभियोजन गरिसक्नुपर्ने हुन्छ । ६ असोजमा पक्राउ परेका जोशीको म्याद शुक्रबार ९० दिन पूरा हुने भएकाले सोहीबमोजिम लामिछानेको म्याद मिलान गरिएको थियो । संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गर्ने कार्यमा संलग्न रहेको भन्दै लामिछानेसहित जीबी राई, पूर्वडीआईजी जोशी, कुमार रम्तेलमाथि कारबाही सिफारिस गरेको थियो। सोहीबमोजिम लामिछाने र जोशी प्रहरी हिरासतमा छन् । रम्तेल पुर्पक्षका लागि कास्की कारागारको थुनामा छन् भने जीबी राई फरार छन् ।