काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गए राति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जीप दुर्घटना हुँदा जीपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जीप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनु भयो ।
पुल पार गरिसकेपछिको मोडमा जीप दुर्घटनामा परेको उहाँले बताउनु भयो ।