चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनको हिरासतमा दुर्व्यवहार गरिएको भनेर भ्रम फैलाइएको जनाएको छ ।
चितवन प्रहरीले आज एक विज्ञप्ती जारी गर्दै लामिछानेलाई प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेको छ ।
प्रहरी नायव उपरीक्षक भेषराज रिजाल हस्ताक्षरित विज्ञप्तीमा सभापति लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा मंसिर १९ गते राति साढे ९ बजे बयान सकिनासाथ हिरासत कक्षमा पनि नलगी भेटघाट कक्षमा आफन्तसँगको भेटघाटपछि राति १२ बजेर ५ मिनेटमा कास्की लगिएको जनाइएको छ ।
रास्वपाले सुतिरहेका लामिछानेलाई प्रहरीले दुर्व्यवहार गरेर राति उठाएर कास्की लगिएको भन्दै अनुसन्धानको माग गर्दै राष्ट्रिय मावन अधिकार आयोगमा उजुरी दिएको थियो ।
यस्तै, चितवन प्रहरीले लामिछानेलाई कास्की लिएर जाने कुनै पनि प्रहरीले मादक पदार्थ सेवन नगरेको स्पष्ट पारेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि काठमाडौंबाट मंसिर १८ गते बिहान जहाज मार्फत चितवन ल्याइएको थियो ।
दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरेर बयान लिइएको थियो । चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र नेचर हव इन्टरनेसनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई समेत बयान लिइएको थियो ।