सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले साहमाथि कर्तव्य ज्यान मुद्दा रहेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनु भयो ।
साहलाई बिहीबार पदभार ग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको थियो । डाक्नेश्वरीका दुई जनाको हत्या आरोप लागेका साहमाथि परमादेशबाट उच्च अदालत जनकपुरको राजविराज इजलासमा मुद्दा रहेको छ ।
साह यसअघि २०७९ को स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार हुँदा पराजित भएका थिए । यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भएका साह नेपाली कांग्रेसकी उम्मेदवार भुलियादेवी थरुनीलाई पराजित गर्दै ६ सय ५२ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका थिए ।