चितवन । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ । जिल्ला सरकारी वकील कार्यालय चितवनले लामिछानेसँग बयान लिइरहेको छ ।
मंगलबार बिहान काठमाडौंबाट चितवन पुर्याइएका लामिछानेसँग हिजै मध्याह्न १२ बजेदेखि पाँच घन्टा बयान लिइएको थियो । हिजो प्रारम्भिक प्रश्न मात्र गरिएकोमा आज गहिराइमा गएर बयान लिइने सरकारी वकील कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिराज लुँइटेलले बताउनु भएको छ । सकेसम्म आज नै बयान सक्ने तयारी भएको उहाँले बताउनु भएको छ ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट हिजो बिहान चितवन लगिएको थियो । चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछाने सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र नेचर हब इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो ।