पाल्पा । संघदेखि स्थानीय तहका सरकारसम्मले अपांगता भएका व्यक्तिहरूको समान अधिकार र पहुँचलाई प्राथमिकता दिएको पाइँदैन । तर केही अपांगता भएका व्यक्तिहरू सरकारी सहयोगविना पनि आफैं मिहिनेत गरिरहेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका-३, खस्यौली सिरुपातेका दृष्टिविहीन दम्पतीको मिहिनेतको कथा भने सबैका लागि प्रेरणा बनेको छ ।
बिहानै उठेर घरको काम सकेपछि दृष्टिविहीन दम्पती गौरव तिमिल्सेना क्षेत्री र सम्झना थापा तिमिल्सेनाको यात्रा अघि बढ्छ । सेतो छडी श्रीमान् गौरवले बोक्छन् र श्रीमती सम्झनाको हात समातेर घरदेखि ४५ मिनेट टाढाको भैरवस्थान मन्दिर परिसरमा पुग्छन् । अनि सुरू हुन्छ दैनिकी, अर्थात् साथमा लगेको अगरबत्ती बेच्ने काम ।
दिनभर उनीहरू दृष्टिविहीनलाई सहयोग गर्नुहोस् भन्दै अगरबत्ती बिक्री गर्छन् । पैसा चिन्ने सफ्टवेयर छ । दुवै जना मिहिनेती छन् । त्यसैले कहिले राम्रै कमाइ हुन्छ, कहिलेकाहिँ भने एक दुई सयको बिक्री गरेर पनि फर्किन्छन् ।
गौरवको घर रौतहट हो । सम्झना पाल्पाकै रिब्दीकोट मालमुलमा जन्मेहुर्केकी । जन्मजात दृष्टिविहीन दुवै जनाको सात वर्षअघि बिहे भएको हो । साथी मार्फत् चिनजान भएर कुराकानी हुँदा घरजम गर्ने निधो गरेका उनीहरूले अहिले खस्यौली सिरुपातेमा अगरबत्ती बिक्री गरेरै १६ लाखको घरजग्गा जोडेका छन् । अहिले दुवै जना त्यही घरमा बस्न थालेका छन् । अगरबत्ती बिक्रीबाट दैनिक हुने कमाइबाट बचत गरेको रकमले घर समेत झन्डै आठ रोपनी जग्गा जोडेका छन् ।
पर्याप्त अवसर प्राप्त गर्न सकेमा अपांगता भएका व्यक्तिहरूले पनि सांगसरह आत्मनिर्भर भई स्वावलम्बी जीवन जिउन सकिन्छ भन्ने उदाहरण गौरव र सम्झना बनेका छन् । दृष्टिविहीन दम्पतीले गरेको प्रगति देख्दा सिरुपाते गाउँका उनीहरूका छिमेकी पनि दंग छन् ।
अपांगता भएका व्यक्तिहरूको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्र र विकासमा उनीहरूको समावेशिताका लागि बर्सेनि अपांगता दिवस मनाउने गरिन्छ । तर तीनै तहका सरकारले भने यस्ता विषयलाई प्राथमिकता दिएको पाइँदैन । समाजमा सबै व्यक्तिलाई समान अवसर प्रदान गर्न, अपांगता भएका व्यक्तिहरूलाई मानव अधिकार सुनिश्चित गर्दै उनीहरूप्रति हुने सबै भेदभाव र असमानता अन्त्य गर्नुका साथै अपांगता सम्बन्धी मुद्दाहरूमा जनचेतना फैलाउन पनि स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले यस सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रम स्थानीय सरकार मार्फत् हुन सके मात्र अपांगता भएका व्यक्तिहरुले न्याय पाउने थिए कि ?