काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति धमाधम भइरहेको छ । गत कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा विमानस्थल बन्द गरेर समानान्तर ट्याक्सी-वे, हृयाङ्गर र एप्रोन निर्माण भइरहेको छ । विमानस्थलको क्षमता बढाउन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसारको ट्याक्सी-वे निर्माण गरिएको हो ।
चैत १८ गतेसम्म सक्ने लक्ष्य राखेर १५ अर्बको लागतमा समानान्तर ट्याक्सी-वे, हृयाङ्गर र अन्तर्राष्ट्रिय जहाजका लागि एप्रोन निर्माण भइरहेको हो । अहिले दुई सय हाराहारीमा कामदार र ६० भन्दा बढी टिपर र एक्सकाभेटर निर्माणमा परिचालित छन् । विमानस्थलभित्रै तीन फरक-फरक ठाउँमा भइरहेको कामको प्रगति २६ दिनमा १५ प्रतिशत रहेको छ ।
विमानस्थल स्तरोन्नति गुरुयोजना अन्तर्गत निर्माण भइरहेको हो । एक वर्षदेखि सञ्चालनमा रहेको गुरुयोजना आगामी दुई वर्षमा सम्पन्न हुनेछ । जसबाट विमानस्थलको क्षमता २५ देखि ३० प्रतिशत बढ्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जारी निर्माण कार्यको अनुगमन गर्न सोमबार राति पुग्नु भएको थियो संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे । पर्यटकीय सिजनमै विमानस्थल बन्द गरेर यात्रु तथा व्यवसायी मारमा पारेको भन्दै आलोचना खेप्नु भएका मन्त्री पाण्डे निर्माणप्रति भने सन्तुष्ट देखिनु भयो ।
हाल ३३ सय मिटरको धावनमार्ग रहे पनि ट्याक्सी वे १९ सय मिटर मात्र छ । त्यस्तै अहिलेको ट्याक्सी-वे धावनमार्गबाट एक सय १० मिटरको दूरीमा मात्रै रहेकाले आइकाओको मापदण्ड पूरा हुन सकेको थिएन । अब ट्याक्सी-वे मापदण्ड अनुसारकै एक सय ७२ दशमलब पाँच मिटरको दूरीमा निर्माण गरिने छ भने ट्याक्सी-वेलाई पनि बढाएर ३३ सय मिटरकै पुर्याइनेछ ।
त्यस्तै अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ टर्मिनल भवन, हृयाङ्गर र एप्रोन निर्माण हुने छन् भने फ्युल स्टेशन पनि सारेर अत्याधुनिक प्रविधिमा निर्माण गरिने छ । यसले विमानस्थलको क्षमता वृद्धि हुनुका साथै सुरक्षा पनि बढ्ने छ ।