पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायी निराश

मंसिर १५, २०८१ |भुपाल गुरुङ
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायी निराश

पोखरा । दुई वर्षअघि उद्घाटन भइ नियमित उडान थालेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अझै हुन सकेको छैन । केही अन्तर्राष्ट्रिय चार्टर उडानमात्रै भएको विमानस्थलबाट नियमित उडान कहिले हुन्छ भन्ने जवाफ सरकारसँग पनि छैन । चीन सरकारको २२ अर्ब रुपैयाँ ऋणमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन भने पर्यटन तथा उद्योग व्यवसायी निराश बनेका छन् ।

यही साता गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालको नेतृत्वमा पर्यटन, उद्योगी व्यवसायीसहितको एक टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं पुग्यो । चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलीलाई भेटेर टोलीले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीनसाग पहल गरिदिन आग्रह गर्‍यो । 

पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्न आवश्यक पहल गर्ने आश्वासन लिएर टोली पोखरा फर्कियो । प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालले पोखरा विमानस्थलको ऋण मिनाहा प्रस्ताव लैजाने तयारी गर्दा अन्तर्राष्ट्रिय उडान पनि समावेश गर्नुपर्ने पक्षमा पोखरेली छन् ।

चीनको एक्जिम बैंकबाट महँगो ब्याजमा करिब २२ अर्ब ऋण लिएर बनाएको यो अन्तर्राष्ट्रिय विमानस्थल 'आन्तरिक विमानस्थल' का रुपमा मात्रै चलिरहेको छ । विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थक भए पनि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा स्थानीयमा गुनासो बढ्दो छ भने पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशामा अर्बौै लगानी थपेका पर्यटन व्यवसायी लगानी डुब्ने जोखिममा छन् ।

२०६९ ताका यो विमानस्थल बनाउन पोखरा उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका खेलेको थियो । त्यसमा पोखराका सबैले साथ दिए । विमानस्थल त बन्यो तर चल्ने छाँटकाट नदेखेपछि अन्तर्राष्ट्रिय उडान सुनिश्चितताका लागि भावी रणनीति बनाउन बिहीबार संघले छलफल आयोजना गर्यो ।

विमानस्थल निर्माणपछि सञ्चालनका लागि सरकारले गर्नुपर्ने कामहरु पनि गरेको छैन । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलमा बल्ल २०८० मंसिर १० मा अध्यागमन कार्यालय खोलियो । तर श्रम स्वीकृति, वैदेशिक रोजगार बीमा, भिसा सेन्टर, अभिमुखीकरण कक्षादेखि म्यानपावर र टिकेटिङ कम्पनीको सुविधा दिनेतर्फ सरकार अग्रसर छैन । 

भारतले सिमराबाट मात्रै प्रवेश विन्दु दिएकाले विदेशी एयरलाइन्सलाई घुमाउरो बाटो भएर पोखरा आउनुपर्छ । विमानस्थल बन्नुअघि नै वा निर्माणकै क्रममा टुंगिनुपर्ने एयर रुटको सवाल अन्यौलमै छ । बीआरआई प्रोजेक्टअन्र्तगत चीनले बनाइएको भन्दै भारतले उडान अनुमति दिन आनाकानी गरिरहेको छ । विमानस्थल सञ्चालनमा आएयता अहिलेसम्म डेमोसहित भारत, चीन र भुटानबाट नौवटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान र अमेरिकाको विङटिप कर्पोरेसनको जेट विमान मंसिर २ मा पार्किङका लागि पोखरा आएको थियो । 

अहिले पोखरामा आउने अन्तर्राष्ट्रिय विमानले ल्यान्डिङ, पार्किङ र न्याभिगेसन शुल्कमा शत प्रतिशत छुट पाउाछन् । ग्राउन्ड हृयान्डलिङमा समेत ५० प्रतिशत छुट छ तर पनि अन्तर्राष्ट्रिय एयरलाइन्सहरु आकर्षित हुनसकेका छैनन् ।

विमानस्थल सञ्चालनमा आएसागै प्राविधिक त्रुटीदेखि आर्थिक अनियमिताका विषय पनि जोडतोडले उठेको छ । संघीय संसद्को सार्वजनिक लेखा समितिमा परेको उजुरीको आधारमा गठन भएको उपसमितिले गत असार तेस्रो साता विमानस्थलको स्थलगत अध्ययन गरि प्रतिवेदन तयार गर्दैछ । विमानस्थल सञ्चालनमा आएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्दै गएको छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement