मधेशको विकासमा वरदान हुलाकी राजमार्ग

मंसिर १४, २०८१ |अनिल मिश्र
मधेशको विकासमा वरदान हुलाकी राजमार्ग

धनुषा । विकासका लागि बाटो वरदान हो भन्ने मधेश प्रदेशका जिल्लाहरूमा पूरा हुँदै गएका हुलाकी सडकको निर्माणले देखाउँछ । सडक निर्माणसँगै मधेशका नागरिकहरूको दैनिकी सहज हुँदै गएको छ भने सामाजिक र आर्थिक अवस्था पनि फेरिँदो छ । जग्गाजमिनले समेत राम्रो मूल्य पाउन थालेको छ भने जीवनस्तर सुधार हुँदै गएको छ ।

तराई-मधेशको लाइफलाइनको रूपमा हेरिएको पूर्वपश्चिम मूल हुलाकी राजमार्ग र भारतीय सिमानादेखि महेन्द्र राजमार्ग जोड्ने शाखा सडकहरूको निर्माणसँगै मधेशका जिल्लामा यातायातको सुगमता बढ्दै गएको छ । एक दशक अघिसम्म प्रशासनिक कामकाजका अलावा सरसामान किनमेलका लागि जिल्ला सदरमुकाम आउन पनि हम्मे थियो । हिँउदमा जेनतेन साइकलमा ओहोर दोहोर गर्नेहरू बर्खा लागेसँगै पैदल आउजाउ गर्थे । तर अहिले अवस्था फेरिँदै जाँदा उनीहरूको खुशीको सीमा छैन ।

सप्तरी सदरमुकाम राजविराजदेखि पर्साको वीरगन्जसम्म हुलाकी राजमार्ग कालोपत्रे भएपछि सवारी साधनको खरिद बिक्री त बढेको छ नै ग्रामिण भेगका बजार विस्तार हुनुका साथै जग्गाको भाउ पनि बढ्दै गएको छ । यसले कृषि लगायत वस्तुको बजारीकरणमा सघाउ पुग्नुका साथै ग्रामिण अर्थतन्त्रको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुगेको छ ।

धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्लामा रहेका हुलाकी राजमार्ग र भारतीय सिमानादेखि महेन्द्र राजमार्ग जोडने उत्तर दक्षिण जम्मा १५ वटा सडकखण्ड अन्तर्गत जम्मा तीन सय ९३ दशमलब ५८ किलोमिटर सडक रहेको छ । जसमध्ये तीन सय २८ दशमलब पाँच किलोमिटर सडक निर्माणको काम पूरा भएको छ भने अब ६५ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । निर्माण भइसकेका सडकको भुक्तानी समस्या, अदालतको निशेधाज्ञा र सडक निर्माणका लागि ठेक्का लगाउन स्रोत सुनिश्चितताको अभाव छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि सुरू भएको हुलाकी राजमार्ग निर्माणमा मधेशका धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्लामा मात्र गत आर्थिक वर्षसम्म आठ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ खर्च भइसकेको छ । धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला र रौतहट र सर्लाहीको सिमाना भएर बग्ने बागमती नदीमा पुल निर्माणको काम पूरा गर्न सके एकदेखि अर्को जिल्लाको सदरमुकाम आउजाउ गर्न निकै सहज हुनेछ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement