काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्-श्रीमती सहित १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोहमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी गराउनु भएको हो ।
उहाँले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका उनीहरूका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिनु भयो । कार्यकारी निर्देशक अधिकारीले भन्नुभयो, “विश्वका असल अभ्यासहरूलाई आत्मसाथ गर्दै कोषले सामाजिक सुरक्षाको प्रभावकारितालाई मध्यनजर गर्दै अगाडि बढिरहेको छ । पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अहिले उनीहरूका श्रीमान्, श्रीमती र १८ वर्ष नकटेका छोराछोरीहरूले समेत उपचार थप गरिएको व्यहोरा जानकारी गराउँदछु ।”
उहाँले कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भएको जानकारी गराउँदै आबद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताउनु भयो । उहाँले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताउनु भयो । उहाँले कोष कोषको दायरा विस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिनु भयो । यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चित गर्ने उहाँको भनाइ छ ।
उहाँले कोषमा हालसम्म अनलाइन प्रणाली मार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताउनु भयो । उहाँले कोषका सम्पूर्ण सेवाहरूलाई अनलाइन प्रक्रियामा लैजाने काम अन्तिम चरणमा रहेको पनि बताउनु भयो ।