बाजुरा । हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रुखले च्यापेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । सोही घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा हिमाली गाउँपालिका-३ युनाका ४३ वर्षीय सुपधन बुढा रहेका छन् भने ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनकबहादुर बोहराले जानकारी दिनु भएको छ। बोहराका अनुसार युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन विस्तारका लागि सल्लाको रुख काट्ने क्रममा रुख ढलेपछि च्यापिएर सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
रुखले च्यापेर घाइते भएका रोकाया र सुनारको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाउन पहल भइरहेको छ ।
बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।