काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दरबारमार्गमा जागरण सभा आयोजना गर्दा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
अराजकता विरुद्ध चेतना फैलाउन भन्दै एमालेले सभा आयोजना गरेको हो । भद्रकालीबाट शुरू भएको एमालेको र्याली न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क हुँदै दरबारमार्गको सडकमा पुगेर सभामा परिणत भएको थियो । सभामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, आजै माइतीघर क्षेत्रमा सहकारी पीडितले पनि प्रदर्शन गरिरहेका छन् । माइतीघरमै म्यानपावरपीडितहरूले न्यायको माग सहित प्रदर्शन गर्दै छन् । विभिन्न दल तथा समूहको प्रदर्शन हुने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने पाँच हजारभन्दा बढी प्रहरी खटाइएको काठमाडौं प्रशासनले जनाएको छ । ट्राफिक व्यवस्थापन सहज बनाउनका लागि पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटाइएको छ ।