विधापति स्मृति पर्व : राजविराजमा मैथिली भेषभूषासहितकाे झाँकी प्रदर्शन

कार्तिक २९, २०८१ |आरएन विश्वास
विधापति स्मृति पर्व : राजविराजमा मैथिली भेषभूषासहितकाे झाँकी प्रदर्शन

सप्तरी । मैथिली महाकवि विद्यापति स्मृति पर्वको अवसरमा आज सप्तरी सदरमुकाम राजविराजमा मैथिली भेषभूषासहितकाे झाँकी प्रदर्शन गरिएको छ ।

मैथिली साहित्य परिषद् सप्तरीले प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे महाकवि विधापति स्मृति दिवसकाे अवसरमा यसवर्ष पनि झाँकी, कवि गाेष्ठी तथा अन्तरक्रिया आयाेजना गरिएको हाे ।

मैथिली पहिरन, भेषभूषा तथा बैलगाडा, हलाे फालाेसहितका कृषि औजारसहित स्थानीय पब्लिक माध्यमिक विद्यालयकाे मैदानबाट निस्केको झाँकी राजविराजकाे विभिन्न भागमा प्रदर्शन गरिएको हो ।

मैथिली भाषालाई जगेर्ना गर्ने र सरकारी कामकाजकाे भाषा मैथिली हुनुपर्ने भन्ने ध्येयका साथ यसवर्ष विधापति स्मृत दिवस मनाइएकाे मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेशकुमार झाले जानकारी दिनुभयो ।

यस्तै स्मृति दिवस अन्तर्गत आयाेजना गरिएको कवि गोष्ठीका वक्ताहरुले मातृभाषा मैथिलीको संरक्षण संवर्धन गर्नुकाे साथै महाकवि विद्यापति बसेकाे सप्तरीको बनाैली संरक्षण गर्दै विधापति स्मृति पार्कसँगै संग्राहलय निर्माणतर्फ मधेश प्रदेश सरकारकाे ध्यानाकर्षण गरानुभएकाे थियाे ।

झाँकीमा मैथिली भाषा अभियानकर्ता, विद्यार्थी र ओम शान्तिका अनुयायीहरुसँगै सरकारी अधिकारीहरु समेत सहभागिता थिए ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।