कास्की । सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित ४ जनालाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदातलमा पेस गरेको थियो ।
म्याद थपका लागि भएको बहस सकिए पछि अदालतले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
आजको बहसमा न्यायाधीश नवराज दाहालको इजलासमा पीडितहरुको तर्फबाट कृष्णप्रसाद जैसीले बोल्नु भएको थियो भने रवि लामिछानेले पनि बोल्नु भएको हो । उहाँले आफूमाथि राजनीतिक प्रतिशोध साधेको र रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको आज पनि दोहोर्याउनु भएको थियो ।
लामिछानेले सहकारी पीडितहरुको आन्दोलन नक्कली भएको भन्दै केही व्यक्तिको स्वार्थमा आफूविरुद्ध आन्दोलन गरेको आरोप समेत लगाउनु भयो ।
आजको बहसमा रविको तर्फ वरिष्ठ अधिवक्ता सुशील पन्त, मेघराज पोख्रेल, नारायण घिमिरेले बहस गर्नुभयो । एउटै मुद्दामा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगनाथ ढकाल र कृष्णबहादुर थापाले बहस गर्नु भएको हो ।
यसैगरी, जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली र बीबी विष्टले बहस गर्नु भयो ।
रास्वपाको पार्टी कार्यालय काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको समेत साथ लिएर सम्पत्ती शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ । लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् ।