मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशीका निवर्तमान मन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

कार्तिक २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशीका निवर्तमान मन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

काठमाडौं । मानव तस्करीको आरोपमा विराटनगरमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ । प्रहरीले आज बिहान अधिकारीलाई निवासबाटै पक्राउ गरेर  विराटनगरबाट हवाइजहाज मार्फत काठमाडौं ल्याइपुर्‍याएको हो । 

अधिकारीले पक्राउपरेपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै आफू कानुनमाथि नरहेको र अनुसन्धानलाई सघाउन तयार रहेको बताउनु भएको थियो ।

अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री र आफ्नो पार्टी नेकपा एमालेलाई समेत कुनै जानकारी नदिई फर्जी कागजात बनाइएका तीन जना व्यक्तिसहित जापान जानु भएको थियो । जापानबाट उहाँसहित चारै जनालाई विमानस्थलबाटै नेपाल फर्काइएको थियो ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो ।

अधिकारीले आफू मन्त्री भएको भन्दै परिचयपत्र देखाएपछि प्रहरीले छाडेको थियो । अधिकारीको साथमा रहेका रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई तत्कालै समातिएका थिए । अध्यागमनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

ती तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोट विदुरका जुगल रिजाल, दोलखा जिरीका वीरबहादुर सुनुवार र धादिङ त्रिपुरासुन्दरीका महेश पाण्डेलाई पनि पक्राउ गरेको थियो । जापानबाट फिर्ता गरिएका युवाले पाण्डेलाई प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन् ।

उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । जिल्ला अदातल काठमाडौंले अनुसन्धानका लागि थप ४ दिन हिरासतमा राख्न गत शुक्रबार प्रहरीलाई अनुमति दिएको छ ।

पक्राउ परेका अधिकारीले नै ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसक्नु भएको छ । गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उहाँको जिकिर छ ।

तर जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै नेपाल प्रहरीलाई यसबारे अधिकारीले जानकारी गराएको आशंका छ । आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापानबाटै फर्किएको उहाँको दाबी छ ।

जापानबाट फर्काइएका तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए । कर्मचारीको परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ ।

यो घटना बाहिर आउनसाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिनु भएको थियो भने नेकपा एमाले कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका कुनै पनि भूमिकामा नरहनेगरी निलम्बन गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.