मानव तस्करीको आशंकामा जापानबाट फर्काइएका तीनसहित ६ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मानव तस्करीको आशंकामा जापानबाट फर्काइएका तीनसहित ६ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसँगको मिलेमतोमा नक्कली कागजात बनाएर जापान पठाएको आरोपमा पक्राउ परेका ६ जनालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट शुक्रबार लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि ४ दिन म्याद लिएको हो । कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयको सहायक पदको परिचय पत्र बनाएका कन्चन देवकोटा र जनक राई तथा वडा सदस्यको रुपमा गएका दावा शेर्पालाई थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

यस्तै नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ परेका वीरबहादुर सुनुवार, महेशविक्रम पाण्डे र जुगल रिजाललाई पनि थुनामा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीले पक्राउ परेका ६ जनासँग प्रारम्भिक बयान लिएको छ । जापानबाट फिर्ता पठाइएका तीनै जनाले पैसा बुझाएर गएको बयान दिएका छन् । निर्वतमान मन्त्री अधिकारीसहित चारै जनालाई जापान अध्यागमन कार्यालयले फिर्ता गरेको थियो ।

मन्त्री अधिकारी र फिर्ता गरिएका तीनै जनाले सहभागीता जनाउने भनिएको कार्यक्रम नै शंकास्पद देखिएकाले प्रहरीले थप अनुसन्धान गर्नै भएको छ । टोकियो महानगरपालिका र आर्ट काउन्सिल जापानले आयोजना गरेको भनिएको अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा प्रदेश मन्त्री कसरी आमन्त्रण गरिए र उनलाई निमन्त्रण गरिएकै भए पनि परराष्ट्र मन्त्रालयमार्फत आउनु पर्नेमा त्यो प्रक्रिया पनि पूरा भएको देखिँदैन । 

जापानकै स्थानीय सरकार आयोजक रहेको कार्यक्रममा मन्त्री कुन हैसियतमा सहभागी हुने भनेर कुनै कूटनीतिक माध्यमबाट जानकारी नआएका कारण अधिकारीमाथि अनुसन्धान गर्नु पर्ने प्रहरीका अधिकारीहरुको बुझाइ छ । फिर्ता गरिएका तीनै जनाले आफूहरु मन्त्रीकै नेतृत्वमा आएको जापानस्थित अध्यागमनमा बताएको स्रोतको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement