काभ्रे । निरन्तरको वर्षापछि काभ्रेको पात्ले खेतको हसेरा नजिकैको खोल्सामा आएको बाढीले सडकमा लेदो ल्याएका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहानदेखि परेको अविरल बर्षाका कारण गत असोज दोस्रो साता अवरुद्ध भएकै धुलिखेल-११ पात्ले खेतको हसेरा नजिकै अवरुद्ध भएको हो ।
अहिले राजमार्ग प्रहरी र स्थानीयको सहयोगमा खुलाउने प्रयास भइरहेको अस्थायी प्रहरी पोस्ट काभ्रेमा कार्यरत रुद्र लामिछानेले जानकारी दिनुभयो । सडक विभागको पछिल्लो सूचना अनुसार बीपी राजमार्गमा साझको ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब १८ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएको थियो ।
बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।