नेपाल संवत् ११४५ आजदेखि सुरु

देशभर शुभकामना साटासाट गरी साँस्कृतिक उत्सवका रुपमा मनाइँदै ।
कार्तिक १७, २०८१ |नारायण किलम्बू
नेपाल संवत् ११४५ आजदेखि सुरु

काठमाडौं । नेपाल संवत् नयाँ वर्ष ११४५ आजदेखि सुरु भएको छ । परोपकारी शंखधर साख्वाले जनताको ऋणमोचन गराएको स्मरणमा सुरु गरिएको नेपाल संवतको नयाँ वर्षलाई न्हुदँया भिन्तुना भन्दै देशभर शुभकामना साटासाट गरी साँस्कृतिक उत्सवका रुपमा मनाउने चलन छ । राष्ट्रियता र संस्कृतिको निशान नेपाल संवत् विश्वमा पहिचान भन्ने उद्घोषका साथ नयाँ वर्ष हर्षोल्लासका साथ मनाइन्छ ।

११ सय ४५ वर्षअघि तत्कालीन लिच्छवी राजा राघवदेवको पालामा परोपकारी शंखधर साख्वाले ऋणमा परेका जनताको ऋणमोचन गरिदिएको स्मरणमा यो संवत् प्रचलनमा ल्याइएको हो । नयाँ वर्षका दिन भिन्तुना र्‍यालीका साथ शुभकामना आदानप्रदान गरी सांस्कृतिक उत्सवका रुपमा मनाउने चलन छ ।

नेपाल संवत् कुनै राजा, महाराजा वा व्यक्तिविशेषको नामबाट चलेको संवत् होइन । राष्ट्र र राष्ट्रियताको भावनाबाट अभिप्रेरित नेपाल संवत् ८८८ सम्म राष्ट्रिय संवत्को रुपमा प्रयोगमा थियो । तर दैनिक जीवन, सांस्कृतिक चाडपर्व, रीतिरिवाज र धार्मिक संस्कारमा समेत प्रयोग हुन थालेकाले यसको महत्व बढ्दै गएको छ । 

मुलुकमा आर्थिक संकट र धेरै जनताको सम्पति ऋणमा डुबिरहेको अवस्थामा व्यापारी साख्वाले समस्यामा परेका सबै नागरिकको ऋण मोचन गरिदिएर लोककल्याणकारी काम गरेका थिए । त्यसैले संवत् र संवत्का प्रवर्तकको योगदान अहिले पनि उत्तिकै सान्दर्भिक रहेको जानकार बताउँछन् । 

नेपाल संवत्‌सम्बन्धी अभियानकै कारण यसलाई राष्ट्रिय मान्यता दिनुका साथै संघीय सरकार तथा स्थानीय तहहरुले सरकारी कामकाजमा समेत प्रयोगमा ल्याउन थालेका छन् । यसका प्रवर्तक शंखधर साख्वालाई त २०६० सालमै राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

नेपाल संवत्‌लाई नोटहरुमा समेत प्रयोगमा ल्याउन अगुवाहरुको माग छ । छुट्टै पहिचान बोकेको संवत्‌को नयाँ वर्षमा देशभर भिन्तुना र्‍याली बाजागाजाका साथ सांस्कृतिक झाँकी निकालेर हर्षोल्लासका साथ मनाउने प्रचलन छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।