देशकै पुरानो बुटवल औद्योगिक क्षेत्र साँघुरो र जीर्ण बन्दै

उद्योग सञ्चालन र उत्पादन प्रभावित
व्यवस्थापन तथा विस्तारमा सरकारको छैन ध्यान
कार्तिक १०, २०८१ |अमृता अनमोल
देशकै पुरानो बुटवल औद्योगिक क्षेत्र साँघुरो र जीर्ण बन्दै

रुपन्देही । देशकै पुरानो औद्योगिक क्षेत्र हो, बुटवल औद्योगिक क्षेत्र । ४९ वर्षअघि स्थापना भएको औद्योगिक क्षेत्र अहिले साँघुरो र जीर्ण बनेको छ । यको व्यवस्थापन र विस्तारमा सरकार चुक्दा औद्योगिक क्षेत्रमा उद्योग खोल्ने र भएका उद्योग विस्तार गर्ने काम रोकिएको छ ।

बजार क्षेत्रको किनार वनछेउमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ, बुटवल औद्योगिक क्षेत्र । देशको मध्यभागमा रहेको बुटवललाई औद्योगिक सहर बनाउन भन्दै २०३२ सालमा औद्योगिक क्षेत्र स्थापना गरिएको थियो । ४९ वर्षअघि स्थापना भएको औद्योगिक क्षेत्र अहिले साँघुरो र जीर्ण बनेको छ । जसले उद्योग सञ्चालन र उत्पादन प्रभावित भएको छ ।

४ सय ३४ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा उत्तरपूर्वको ३ सय रोपनी र पश्चिम दक्षिणतर्फको २ सय ४० रोपनी जग्गामा औद्योगिक क्षेत्र विस्तारका लागि पटकपटक योजना बने । तर, वन क्षेत्रको जग्गा प्राप्ति रोकिएपछि विस्तार हुन सकेन । उद्योग सञ्चालनमै समस्या भएपछि पछिल्लो समय सडक र ढल निकासका लागि काम थालिएको छ ।

बुटवलको औद्योगिक क्षेत्र विस्तार मात्र होइन भएको क्षेत्र व्यवस्थापनमा पनि सरकारको ध्यान छैन । औद्योगिक क्षेत्रको १ सय ४३ रोपनी क्षेत्र धागो कारखानाले ओगटेको छ । तर कारखाना २०६६ सालयता बन्द छ । औद्योगिक क्षेत्रभित्रकै ३८ रोपनी क्षेत्रमा बुटवल महानगरपालिकाले पशु वधशाला निर्माण गरेको छ । विवादले वधशाला पनि पूर्णरुपमा चलेको छैन । बचेको क्षेत्रमा सानाठूला ७० उद्योग सञ्चालनमा छन् । स्थान अभावले उद्योगीहरुले उद्योग विस्तार गर्न र थप्न पाएका छैनन् ।

औद्योगिक क्षेत्रमा जग्गामा बाहिरभन्दा कम मूल्यमा जग्गा पाइन्छ । पानी बिजुली, सुरक्षा, मजदुर व्यवस्थापन र सामान निकासी तथा पैठारीको सहज उपलब्धता हुन्छ । तर, भएको औद्योगिक क्षेत्र विस्तार गर्ने र नयाँ औद्योगिक क्षेत्र खोल्ने दुवै काम नहुादा पछिल्लो समय बुटवलका उद्योगीहरु निराश छन् । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।