भित्र छविलालको बयान, बाहिर सहकारी पीडितको आन्दोलन

कार्तिक ६, २०८१ |भुवन पाण्डे
भित्र छविलालको बयान, बाहिर सहकारी पीडितको आन्दोलन

भैरहवा । सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा लिइएको बयान सकिएको छ । भित्र छविलालको बयान भइरहँदा बाहर भने सहकारी पीडितको प्रदर्शन जारी थियो । उनीहरूले भैरहवामा नाराबाजी गरेका थिए ।

सरकारी वकिल कार्यालय रूपन्देहीले मंगलबार बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा बयान लिएको थियो । बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्याधिवक्ता प्रेमराज पौडेलको रोहवरमा बयान गरिएको हो ।

पौडेलका अनुसार जोशिसँग सहकारीका बिषयमा लिनुपर्ने बयान लिएर सकिएको छ । अहिलेलाई आवश्यक बयान सकिएको र प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा आवश्यक परे पुनः बयान लिन सकिने उहाँले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधृकित यमलाल बन्जाडेसहित प्रहरीहरूको उपस्थित सरकारी कार्यालयमा उपस्थित रहेको थियो ।

जोशीलाई असोज ६ मा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । सुप्रिम सहकारीबाटसमेत जोशिको नाममा २ करोड ५० लाख ऋण लिएको देखिएको छ । जोशीलाई सोमबार बयानका लागि रुपन्देही ल्याइएको हो ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।