मकवानपुर । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका सहित केही स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि त्यसको प्रभाव उपनिर्वाचनमा परेको हो । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलीयभन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् ।
बागमती प्रदेशको दोलखा, नुवाकोट, काठमाडौं र मकवानपुर जिल्लामा स्थानीय तहको उपनिर्वाचन हुँदै छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । दलीय उम्मेदवार नौ जना हुँदा ११ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिने एक जना तेस्रोलिंगी हुन् । २०७९ को निर्वाचनमा त्यहाँ कांग्रेसका राजकुमार नकर्मी एमालेका केशरत्न बज्राचार्यलाई हराउँदै निर्वाचित हुनु भएको थियो । कीर्तिपुरमा कांग्रेसले कृष्णमान डंगोल, एमालेले सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् । कीर्तिपुरको १ र ४ तथा काठमाडौं महानगरपालिकाको १६ नम्बर वडामा वडाध्यक्षको निर्वाचन हुँदै छ ।
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा ०७९ मा कांग्रेसका श्यामसुन्दर तामाङ एमालेका मुना सिवाकोटीलाई पराजित गर्दै विजयी हुनु भएको थियो । तामाङको मृत्युपछि रिक्त पदमा हुने उपनिर्वाचनमा सात दल सहित नौ स्वतन्त्र गरी १६ जना प्रतिस्पर्धामा छन् । कांग्रेसले त्यहाँ दिवंगत तामाङकी श्रीमती पाशादिकी शेर्पालाई उम्मेदवार बनाएको छ । त्यहाँ कांग्रेस, एमाले र माओवादीबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन छ । त्यसो त गौरीशंकरमा पहिलो पटक रास्वपा पनि चुनावी मैदानमा उत्रिएको छ । कीर्तिपुर र गौरीशंकरमा मात्रै २० जना स्वतन्त्र उम्मेवारले प्रतिस्पर्धा गर्नु रोचक छ ।
०७९ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको ककनी गाउापालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका तिलकबहादुर लामा निर्वाचित हुनु भएको थियो । लामाको निधनपछि हुन लागेको उपनिर्वाचनमा ११ जना प्रतिस्पर्धामा छन् । दुई स्वतन्त्र र नौ दलीय उम्मेदवार हुन् । त्यहाँ एमाले, कांग्रेस र माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा ठानिए पनि कांग्रेसबाट रास्वपा प्रवेश गरेका मंगलसिद्धि तामाङ उम्मेदवार बनेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
आठ हजार ५३ मतदाता रहेको हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्षमा दुई स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी परेको छ । ०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उम्मेदवार ललित घलान जिल्ला समन्वय समिति प्रमुख बनेपछि रिक्त पदमा हुने उपचुनावमा चार दल मुख्य प्रतिस्पर्धी देखिएका छन् । ०७९ कै निर्वाचनमा उम्मेदवार बनेका एमालेका राजेश नगरकोटी र कांग्रेसका अर्जुन तिवारी पुनः प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रका रविन प्रधान र राप्रपाका आशवीर तामाङ पनि बलिया प्रतिस्पर्धा रहेको मतदाता बताउँछन् ।