रास्वपा सभापति रवि लामिछाने पक्राउ

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपा सभापति रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न अदालत कास्कीले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उहाँ पक्राउ परेका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न आजै अनुमति दिएको थियो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी अनुमतिका लागि कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया सहितको टोली अदालत पुगेको थियो । 

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी पठाइदिन पत्र पठाएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै मानिस पक्राउ गरी पठाइदिने ब्योहोराको पत्र कास्की प्रहरीले पठाएको थियो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गितेन्द्रबाबु–जीबी राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि गत असोज ६ गते नै पक्राउ परेका जोशी अहिले थुनामा छन् ।

संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.