काठमाडौं । दशैंको अवसरमा देशविदेशबाट आफन्त साथीभाइ तथा परिवार भेला भई रमाईलो गर्ने, सुख दु:ख साट्ने र मान्यजनबाट टीका आशिर्वाद ग्रहण गर्ने गरिन्छ । तर आफ्नो पेशा र व्यवसायका कारण कतिपयको दशैं भने कार्यक्षेत्रमै बित्नेछ । काठमाडौंलाई कार्यक्षेत्र बनाएर बसेका कतिपय अत्यावश्यक सेवा क्षेत्रमा कार्यरतहरु कामकै बीच दशैं मनाउँदै छन् । उनीहरु भन्छन्, 'मन घर गाउँमा नै भएपनि रोजेको पेशाका कारण कार्यक्षेत्रमा नै रमाउँदैछौ ।'
विजया दशमीको दिन टीका र आशिर्वाद ग्रहण गर्न तपाईलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउन ट्याक्सी चालक राजु श्रेष्ठ तम्तयार भएर बस्नु भएको छ । आफुले टीका कतिखेर लगाउने कुनै ठेगान छैन, तर तपाईँहरुले समयमै टीका लगाउन सक्नुहोस् भनेर दशैंभर नियमित ट्याक्सी चलाउनुहुनेछ।
अत्यावश्यक सेवा क्षेत्रहरु सुरक्षा, स्वास्थ्य, सञ्चार जस्ता क्षेत्रमा कार्यरतहरुको यो वर्षको दशैं पनि कामकाजमै बित्नेछ। सार्वजनिक तथा नीजी संस्थाहरुको सुरक्षामा खटिएकाहरु देखि सरकारी सुरक्षा निकाय, सञ्चार संस्थाहरु, स्वास्थ्य संस्थाका कर्मचारीहरु कार्यरत क्षेत्रमा नै भेटिन्छन् ।
दशैंमा सबैसँग बसेर पर्व मनाउने मन भएपनि आफुले रोजेर आवद्ध भएकोले यसैमा रमाउनु बाध्यता भएको उनीहरुको भनाई छ ।