इलाम । सडक डिभिजन कार्यालयले पर्याप्त पाइप नल्याँउदा मेची राजमार्गको हेँवा खोलामा डाइभर्सन निर्माणको काम अनिश्चिच बनेको छ ।
असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि हेँवापारिको पाँचथर र ताप्लेजुङसम्म टुटेको सडक सञ्जाललाई अस्थायी रुपमा जोड्न डाइभर्सन निर्माण थालिए पनि थोरै संख्यामा ल्याइएको ह्युमपाइपले डाइभर्सन निर्माण पूरा हुन नसेको हो ।
डाइभर्सन निर्माण नहुँदा तत्काल चार पाङ्ग्रे साधनलाई खोला वारपार गराउने सम्भावना छैन । पुल बगेलगत्तै जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेका विपद व्यवस्थापन समिति र सर्व दलीय बैठकले हेँवा खोला डाइभर्सन गरेर दशैं अगावै खाद्यान्नसहितका अत्यावस्यक वस्तु ताप्लेजुङ पुर्याउने वातावरण मिलाउने निर्णय गरेको थियो ।
सडक डिभिजन इलामले पनि तत्काल बेलिब्रिज बन्ने सम्भावना नरहेकाले डाइभर्सनको काम अगाडी बढाउन तत्परता देखाएको थियो । त्यही क्रममा केही दिनअघि हेँवा खोला आइपुगेका सडक डिभिजन इलामका प्रमुख पवन भट्टराई नेतृत्वको टोलीले डाइभर्सन बनाउन १ मिटर २० सेन्टिमिटर गोलाइ भएका १६ वटा ह्युमपाइप लाग्ने अनुमान गरेर सोही अनुसारका सामग्री झिकाएको थियो ।
शनिवार अपराह्न हेँवा खोलामा ह्युम पाइप आइपुगेपछि १६ थानले खोलाको सतहमा तीन भागको एक भाग पनि नपुगेपछि डाइभर्सन निर्माणको अवधि लम्बिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनु भयो ।
डाइभर्सन निर्माणमा थप २० वटा ह्युम पाइप लाग्ने बताइएको छ । ती पाइप इटहरीबाट ल्याउँदै गरेको र आइपुगेपछि डाइभर्सन निर्माणको काम पुनः सुरु हुने सडक डिभिजन इलामका इन्जिनियर विपिन ढुङ्गानाले जानकारी दिनुभयो ।
पुल बगेपछि नेपाली सेनाले हेवा खोलामा फड्के निर्माण गरेपछि मानिस र मोटसाइकल आउजाउ सुरु भए पनि चार पाङ्ग्रे सवारी साधन चलेका छैनन् । जसले गर्दा, हेवापारिको पाँचथर र ताप्लेजुङका अधिकांस स्थानमा खाद्यान्न र इन्धन अभाव हुन थालेको छ ।
आइतबार नै चारपाङ्ग्रे साधन वारपार गर्नेगरी व्यवस्था मिलाउने भनेको सडक डिभिजनले आवश्यक सामग्री नै थोरै ल्याएर नागरिकलाई झुलाएको भन्दै आक्रोश व्यक्त हुन थालेको छ ।