बाढीपहिरोका कारण अझै ३० वटा सडक अवरुद्ध

४ सय २२ एकतर्फी सञ्चालनमा
आश्विन १९, २०८१ |जिल्ला ब्युरो
बाढीपहिरोका कारण अझै ३० वटा सडक अवरुद्ध

काठमाडौं । गत साता आएको वर्षापछिको बाढी र पहिरोले अझै देशभर ३० वटा सडक अवरुद्ध छन् । बीपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, पुष्पलाल मध्यपहाडी मार्ग, रवि राँके सडक, बेत्राबती मैलुङ सडकलगायत राजमार्ग र सडक विभिन्न खण्डमा अवरुद्ध भएका हुन् । देशभर ४ सय २२ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

नवलपरासीको दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा आएको छ । हिजो साँझ भासिएको सडक मर्मत गरेर एकतर्फी सवारी सञ्चालन गरिएको हो । पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोलानजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो ।

भासिएको ठाउँमा माटो र ढुङ्गाले भरेर सवारी चलाउँदा फेरि भासिने भएकाले एकतर्फी मात्र सञ्चालन गरिएको हो । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।

उता, पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका-७ सितली नजिकै ज्यामिरेमा अवरुद्ध सडक एकतर्फी खुलाइएको छ । सडक खुलेसँगै यातायात सञ्चालनमा आएको छ । राजमार्ग यातायात भासिएपछि अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलेपछि रामेछाप, ओखलढुंगा, सिन्धुली लगायतबाट वैकल्पिक राजमार्गबाट प्रयोग गरेका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

रोकिएका कतिपय सवारी साधनले तामाकोशी गाउँपालिकाको जफे हुँदै किर्नेटार सडक प्रयोग गरेको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सडक मर्मत गरेर दुईतर्फी खुलाउने प्रयास भइरहेको जनाएको छ ।



Enter Kantipur TV HD
Advertisement