काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताउनुभएको छ ।
बुधवार संसदीय सुनुवाई समिति समक्ष आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रश्तावित प्रधानन्यायाधीश राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना रहेको पनि बताउनु भयो ।
उहाँले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु प्रधानन्यायाधीशको प्रमुख जिम्मेवारी रहेकोप्रति पनि आफू स्पष्ट र प्रतिवद्ध रहेको बताउनु भयो ।
प्रश्तावित प्रधानन्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताउनु भयो ।
उहाँले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढाउने पनि बताउनु भयो ।
प्रश्तावित प्रधानन्यायाधीश राउतले न्याय पालिकाको मर्यादा कायम गरेर अघि बढ्ने कुरामा आफू सचेत रहेको पनि बताउनु भयो ।