विपद्का लागि सरकारको पूर्वतयारी नपुगेको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपद्का लागि सरकारको पूर्वतयारी नपुगेको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपद्का लागि सरकारको पूर्वतयारी नभएको स्वीकार गर्नुभएको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस प्रकारको विपद् निम्तेला भनेर अनुमान नभएको बताउनुभयो । विगतमा यति ठूलो विपद् नआएकाले त्यसैअनुसार पूर्वतयारी हुने गरेकोमा यस प्रकारको परिस्थितिका लागि पूर्वतयारी नभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संरचनागत त्रुटिले पनि संकटलाई थपेको उल्लेख गर्दै भएका कमीकमजोरीलाई आगामी दिनमा सच्याउनुपर्ने बताउनुभयो । उहाँले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो । उद्धारमा केही ढिलाइ भए पनि जानीजानी नभएको उल्लेख गर्दै उहाँले सरकारले सक्दो गरिरहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले विपद्पीडितलाई राहत, उद्धार तथा क्षतिपूर्ति र यातायात सञ्चालनको काम तत्काल गर्ने र तात्कालीन तथा दीर्घकालीन योजनाका साथ अघि बढ्ने बताउनुभयो । उहाँले सहकारीपीडितका समस्या समाधान गर्न सरकार धेरै गम्भीर रहेको उल्लेख गर्दै कति रकम फिर्ता गर्न सकिन्छ भन्ने कुरा कानुनी दायराभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement