काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचालु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताउनुभएको हो ।
ललितपुरको नक्खुमा भने प्रयत्न गर्दा गर्दै पनि उद्धार गर्न नसकिएको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो । ‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन । सरकारले हेर्नै सकेन भन्ने होइन । हामीले प्रयत्न गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ,’ उहाँले भन्नुभयो, ‘प्रहरीले उहाँहरुलाई उद्धार गर्ने प्रयत्न गरेको छ । हेलिकोप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो । प्रतिकूल मौसमका कारणले भएन । प्रयत्न गर्दागर्दै पनि उहाँहरु बग्नुभयो ।’
त्यसपछि राहत वितरण, घाइतेहरुको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरु सुचालु गर्नका लागि सरकार क्रियाशील भइरहेको उहाँले बताउनु भयो । गृहमन्त्री लेखकले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी गराउनु भयो । बिरामीहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको पनि उहाँले बताउनु भयो । त्यस्तै सडक सञ्जाल मर्मत्को कामपनि सबै अवरुद्ध भएका ठाउँहरुमा चलिरहेको उहाँले उल्लेख गर्नुभयो ।
गृहमन्त्री लेखकका अनुसार विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु भएको छ । त्यसैगरी १४३ जना घाइते भएका छन् भने २७ जना अझै बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरुले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उहाँले जानकारी दिनुभयो ।