नवलपरासीको दाउन्नेमा सडक भासियो, यातायात पूर्ण रुपमा अवरुद्ध

आश्विन १४, २०८१ |नवीन पौडेल
नवलपरासीको दाउन्नेमा सडक भासियो, यातायात पूर्ण रुपमा अवरुद्ध

नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ । सडक भासिएसँगै यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका- ४ , खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिन गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताउनुभयो ।

सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । जसले गर्दा सर्यौ सवारी दाउन्ने वारी र पारी अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत् कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको छ ।

एकतर्फ भिर र अर्कोतर्फ पहाड भएकाले तत्कालै डाइभर्सन बनाउन समस्या रहेको छ । प्राविधिक टोलीले सडकको समस्या समाधानका लागि पहल गरिरहेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठले बताउनुभयो । 

अहिले दाउन्ने सडकको पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्किबासमा सवारीसाधन रोकिएका छन् ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement