झ्याप्लेखोला पहिरो अपडेट : अहिलेसम्म ३५ शव निकालिए

आश्विन १३, २०८१ |रमेश धमला|पोषनाथ अधिकारी
झ्याप्लेखोला पहिरो अपडेट : अहिलेसम्म ३५ शव निकालिए

धादिङ । धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोमा परेका सवारी साधनबाट ३५ शव निकालिएको छ । सुरक्षाकर्मीले आज बिहानैदेखि थालेको उद्धारका क्रममा थप २१ जनाको शव निकालिएको छ । एउटा माइक्रोबाट १६ र यात्रु बसबाट ५ शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनुभयो । हिजो राति झ्याप्लेखोलाकै पहिरोमा परेका १४ जनाको शव निकालिएको थियो ।

पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकिन गर्न कठिन भएको प्रहरीले जनाएको छ । 

पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्नसमेत कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिनुभयो । गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकिन भएको छ । एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिनुभयो । 

पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।

त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेको माइक्रोबस (जम्बो हाइस) पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।

यसैगरी, शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित बा२ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिनुभयो । सुरक्षाकर्मीले अहिले पनि झ्याप्लेखोलामा गएको पहिरो पन्छाउने कामसँगै उद्धार कार्य जारी राखेको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।