बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरुका परिवारलाई तत्काल राहत उपलब्ध गराउने सरकारको निर्णय

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरुका परिवारलाई तत्काल राहत उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरुका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको मन्त्रीहरुसहित विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरुको अनौपचारिक बैठकले विपद्मा मृत्युभएका व्यक्तिका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले बाढी पहिरोबाट घाइते भएकाहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । त्यसैगरी अवरुद्ध राजमार्गहरु तत्काल खोल्ने र अलपत्र यात्रुको समेत उद्धार गर्ने निर्णय गरेको छ । त्यसैगरी अहिले सञ्चालन भइरहेका त्रिभुवन विश्वविद्यालयलगायतका सबै परीक्षा स्थगित गर्ने निर्णय बैठकले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका हुनुभएकाले कार्यवाहक प्रधानमन्त्री सिंहको नेतृत्वमा आपतकालिन बैठक बसेको हो । कार्यवाहक प्रधानमन्त्री सिंहले बाढी, पहिरो र डुवानका कारण अवरुद्ध भएका सडक खोल्न मन्त्रालयहरुलाई समन्वय गरी अघि बढ्न पनि निर्देशन दिनुभएको छ । पीडित परिवारको उद्धार र राहतका काममा जुट्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरोकारवाला निकायलाई निर्देशनसमेत दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement