उदयपुर र खोटाङ जोड्ने सुनकोशी नदीमाथिको पक्की पुल बाढीले बगायो

आश्विन १२, २०८१ |उत्तम चौलागाईं
उदयपुर र खोटाङ जोड्ने सुनकोशी नदीमाथिको पक्की पुल बाढीले बगायो

खोटाङ । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको छ ।

शनिबार दिउँसो सुनकोशीमा आएको बाढीले पुल बगाएको स्थानीय मिनराज राउतले बताउनुभयो । खोटाङको खोटेहाङ गाउँपालिका -९ लिकचिराम्चे र उदयपुरको रौतामाई गाउँपालिका -५ फोक्सिङटारमा रहेको पुल बाढीले पूर्णरुपले बगाएको राउतले जानकारी दिनुभयो । 'अहिले ४ बजे पुल बगाएको छ,' उहाँले भन्नुभयो, 'पुलको दुई तिरको पिलर बाँकी रहेका छन् । बीचको सम्पूर्ण भाग बगाएको हो ।'

करिब १३ बर्षमा बनेको पुल झन्डै १८ महिना यता सञ्चालनमा आएको थियो । यस्तै, उदयपुरको साउनेबाट खोटाङको बराहपोखरी गाउँपालिका जोड्ने धाप्लाङ्घाटको झोलुङ्गे पुल पनि बगाएको छ ।

यस्तै, पूर्वका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जोड्ने मुख्य पुल सुनकोशी नदीको पुल पनि बग्ने खतरामा पुगेको छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।