सिरहामा फर्जी सहकारी खडा गरेर बचतकर्ताको करोडौँ ठगी

आश्विन १०, २०८१ |विनय आजाद
सिरहामा फर्जी सहकारी खडा गरेर बचतकर्ताको करोडौँ ठगी

सिरहा । सिरहाको कल्याणपुरमा नवीकरण नगरिएको र फर्जी सहकारी खडा गरी विपन्न र निरक्षर नागरिकको करोडौँ रुपैयाँ अपचलन भएको खुलासा भएको छ । माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी र माँ जानकी कृषि सहकारीका बचतकर्ताको रकम अपचलन भएको हो । सहकारी ठगीका घटनाहरू दिनहुँजसो बाहिर आइरहेका छन् तर यसको नियमनमा कडा र गम्भीर भएर लाग्नुपर्ने निकायहरूलाई बचतकर्ताको आँसुले छुन सकिरहेको छैन ।

कल्याणपुर नगरपालिका- ११ मा रहेको एक घर बाहिर राजाराम सब मनि ट्रान्सफरको बोर्ड झुन्ड्याइएको छ । तर, यसै घरभित्र दुईवटा अवैध सहकारी पनि सञ्चालित छन्, एउटा फर्जी र अर्को नवीकरण नगरिएको । यस घरमा सञ्चालित माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी र माँ जानकी कृषि सहकारीमा सयौँ बचतकर्ताले करोडौँ जम्मा गरेका छन् । आफ्नो पैसा फिर्ता माग्दै दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरू धाएको धायै छन् । तर, फिर्ता पाउन सकेका छैनन् ।

‘सहकारीमा जम्मा गरेपछि जरुरी पर्दा काम लाग्छ सोचेको थिएँ,’ बचतकर्ता जितोकुमारी दासले भन्नुभयो, ‘केही महिनाअघि बिरामी परेँ । पैसा झिक्न गएपछि दिएनन् । त्यसको केही समयपछि छोरी बिरामी परिन् । तर, माग्न जाँदा दिन्न भन्यो । यहाँ बहाना गर्न नआऊ भन्यो ।’

मनी ट्रान्सफर र सहकारी दुवैका सञ्चालक कल्याणपुरकै राजाराम साह हुन् । म्यानपावर व्यवसायी बुबा बिल्टु साहले राजारामलाई २०६८ साल साउनमा कल्याणपुरमा मनी ट्रान्सफर खोलिदिए । राजारामले यही मनी ट्रान्सफरलाई देखाएर २०७४ मा ग्लोबल आइएमई बैंकसँग शाखारहित बैंकिङ सेवा ल्याए । 

विदेशबाट आफन्तले पठाएको पैसा खाँचो हुनेले यो मनी ट्रान्सफरबाट झिकेर लैजान्थे भने खाँचो नहुनेले यहीँबाट ग्लोबल आइएमई बैंकको आफ्नो खातामा जम्मा गर्थे । राजारामले केही सेवाग्राहीको पैसा जम्मा गरिदिए पनि अधिकांशको बैंकमा नराखिदिएर आफैले चलाउँथे । यो गुनासो पुगेपछि २०७९ माघमा ग्लोबल आइएमई बैंकले त्यहाँबाट आफ्नो शाखारहित बैंकिङ हटायो । यसपछि राजारामले आफ्नो आर्थिक अपराधलाई निरन्तरता दिन २०७९ मै 'माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था' दर्ता गराए । 

अनि, गाउँका सोझासिधा नागरिकलाई झुक्क्याएर बैंकबाट पैसा झिक्न लगाई आफ्नो सहकारीमा सार्न लगाए । तर, अधिकांश बचतकर्तालाई भने माँ जानकी कृषि सहकारी लेखिएको पासबुक दिइएको छ । त्यसमा रकम बुझिलिएकोमा अधिकांशमा राजारामकै हस्ताक्षर छ । तर, नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार, यो सहकारी नै फर्जी रहेको खुलासा भएको छ ।

राजारामले सुरुमा आफूसँग एउटै सहकारी रहेको बताए पनि अर्को फर्जी सहकारी पनि आफ्नै रहेको स्वीकार गरेका छन् । तर, दर्ता नभएपछि आफूले यो सहकारी नचलाएको झुटो दाबी उनले गरेका छन् ।

यस विषयमा प्रहरीमा पटकपटक उजुरी परेको छ । तर, सुनुवाइ भएको छैन । बिल्टु र राजाराम बाबुछोराले सहकारीको बचत अपचलन गरेर विभिन्न ठाउँमा जग्गा जोडेको पीडितहरूको दाबी छ । विपन्न र निरक्षरको पसिनाको कमाइमा रजाइँ गर्नेहरुमाथि सरोकारवाला निकायले छानबिन गरी कारबाहीको दायरमा ल्याउन ढिला गर्नुहुँदैन ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement