कपिलवस्तुको जगदीशपुर तालमा बच्चा कोरल्दै सामुद्रिक चरा फ्यालफ्याले [तस्बिरहरू]

भाद्र ३०, २०८१ |नवीन पौडेल
कपिलवस्तुको जगदीशपुर तालमा बच्चा कोरल्दै सामुद्रिक चरा फ्यालफ्याले [तस्बिरहरू]

कपिलवस्तु । नेपालमा पहिलो पटक सामुद्रिक चरा ठिमाहा फ्यालफ्यालेले बच्चा कोरलेको छ । कपिलवस्तुस्थित पंक्षी आरक्ष जगदीशपुर तालमा फ्यालफ्यालेले बच्चा जन्माएको पाइएको हो ।

जगदीशपुर पंक्षी आरक्षको मध्य भागमा रहेको ढिस्कोको उत्तर पूर्वी कुनाका दुई ठाउँमा ठिमाहा फ्यालफ्यालेका ५ वटा बचेराको फोटो जनकपुरका डा. एसके सिंहले खिच्नु भएको छ । ‘डुंगामा जाँदै गर्दा ठिमाहा फ्यालफ्यालेले टाउकोमा ठुङ्ला जस्तो गर्यो,’ उहाँले भन्नुभयो, ‘सतर्कता अपनाउदै अघि हेर्दा दुईवटा गुँडमा बचेरा देखियो ।’

उहाँले आफू नजिक नगएर परैबाट एउटामा ३ र अर्कोमा दुईटा बचेराका तस्बिर खिचेर फर्केको बताउनु भयो । त्यहाँ ६०/७० वटा ठिमाहा फ्यालफ्याले उडेको र बसेको देखेको उहाँसगै गएका नेचर गाइड अनिल चौधरीले बताउनु भयो । त्यहाँ कम्तीमा पनि १५/२० वटा नेस्टिङ रहेको उहाँको भनाइ छ ।

युरोप, एसिया, अफ्रिका र अष्ट्रेलियाका समुन्द्र, नदी र सीमसार क्षेत्रमा पाइने चरा ठिमाहा फ्यालफ्यालेले नेपालमा पहिलो पटक बच्चा कोरलेको रेकर्ड भएको वरिष्ठ चराविद् हेमसागर बरालले जानकारी दिनुभयो । ‘मुलुकको लागि राम्रो हो,’ उहाँले भन्नुभयो, ‘यसले पर्यापर्यटनप्रति आकर्षण थपेको छ ।’

गत वर्ष भदौ दोस्रो साता जगदीशपुरमा ठिमाहा फ्यालफ्यालेको नेस्टिङ फेला परेको थियो । ओथारो बसेको समाचार बाहिरिएपछि जगदीशपुरमा फोटो खिच्नेको भीड बढेकाले चरा ओथारो छाडेर भागेका थिए । जगदीशपुरमा सामुद्रिक चराले बच्चा कोरलेको एउटा आकर्षण थपिएकाले आफूहरु खुसी भएको कपिलवस्तु नगरपालिका- ९ का वडाअध्यक्ष दीपकबहादुर गुरुङले बताउनु भयो । यस वर्ष भने सामुद्रिक चरा फ्यालफ्यालेले राम्ररी बचेरा हुर्काओस् भनेर तालभित्र कडाई गरिएको उहाँको भनाइ छ ।

अनियमित हिउँदे आगन्तुक तथा वसन्त ऋतुमा बटुवा प्रजातिभित्र यो चरा पर्छ । नेपालमा कहाँबाट फ्यालफ्याले आउछ भन्ने अनुसन्धान नभएपनि अरेबिन समुद्र आसापासबाट आउने अनुमान गर्न सकिने चराविद्हरु बताउँछन् । निकै चञ्चले यो चराको नेस्टिङका बेला बाहेक अन्य समयमा तस्बिर खिच्न गाह्रै हुन्छ । फ्यालफ्याले पानीमा पातमाथि झारपात र झिँजाझिँजी राखेर ओथारो बस्छन् ।

सन् १९८२ मा कोशी ब्यारेजमा ४ सय बढीको संख्यामा यो चरा देखिएका थिए । ४१ वर्षपछि गत वर्षा करिब एक सयको संख्यामा यो चरा पहिलो पटक जगदीशपुरमा देखिएको चराविद् हठन चौधरीले बताउनु भयो । समुन्द्रमा जलवायु परिवर्तनको असरले तापक्रम वृद्धि हुँदा नेपालका यस्ता तालतलैया र सीमसार क्षेत्रमा बचेरा हुर्काउन रोजेको हुन सक्ने उहाँको भनाइ छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement