मनसुन सक्रिय हुँदा देशभरका पहाडी भूभागमा पहिरो [भिडियो रिपोर्ट]

भाद्र २०, २०८१ |पोषनाथ अधिकारी
मनसुन सक्रिय हुँदा देशभरका पहाडी भूभागमा पहिरो [भिडियो रिपोर्ट]

धादिङ । मनसुन सक्रिय भएयता देशभरका पहाडी भूभागमा पहिरो गइरहेका छन् । निकै ठूलो मात्रामा धनजनको क्षति भएको छ भने धेरै बस्ती विस्थापित भएका छन् । मनसुन जारी रहेकाले पहिरोको जोखिम टरेको छैन । पहाडी क्षेत्रमा विनाअध्ययन जताततै ठूला मेसीनको प्रयोग गरी सडक खन्दा मनसुनको समयमा ग्रामिण सडक आसपास पहिरोको जोखिम बढेको हो ।

गत असार १० गते उत्तरी धादिङको खनियाबास गाउँपालिकाको दार्खा नजिकै खुर्सानीबारीमा पहिरोजाँदा केही घर विस्थापित भए भने गाउँपालिकासहित २ दर्जनभन्दा बढी घर पहिरोको जोखिममा पर्‍यो । प्रादेशीक सडक कार्यालयले निर्माण गरिरहेको एकै सडकको ३ घुम्तीसम्म पहिरो बग्यो । सरसरती हेर्दा सडकको कारण यति ठूलो पहिरो गएको सहजै अनुमान गर्न सकिन्छ । पहिरोको कारण यहाँका नागरिकले त्रासमा रात काट्नु परेको छ ।

धादिङ खनियाबासको यो पहिरो त उदाहरण मात्र हो । पछिल्लो समय देशभर पहाडी क्षेत्रमा अन्धाधुन्द सडक विस्तार गरिएको छ । स्थानीय तहले गाउँगाउमा सडक पुर्‍याउने नाममा पहाडमा अध्ययन नै नगरी डोजर चलाउँदा वर्षासँगै जतातै पहिरोले क्षति पुर्‍याएको छ । पछिल्लो तीन महिनामा पहिरोको कारण मात्र देशभर ९५ जनाले.ज्यान गुमाए भने ३५ जना बेपत्ता छन् भने ३ सय २६ परिवार घरवारविहीन बनेका छन् । पहिरोको यकिन तथ्याङक नभएपनि धेरै ठाउँमा ग्रामीण सडकका कारण पहिरो गएको देखिन्छ । भौगोलिक अध्ययन विना र प्राविधिक पक्ष नै नहेरी सडक खन्दा समस्या भएको भूगर्भविद्को तर्क छ ।

पहाडी भूभागमा सडक निर्माण गर्दा कच्ची सडकमा नाली काट्ने, ग्याबीन भर्ने लगायतका काम नहुादा पानीसँगै सडक बग्ने गरेको हो । खासगरी नेपालको पहाडी भेगमा नयाँ सडक निर्माण गर्दा भित्ता खन्नुभन्दा ग्याविन भर्ने र सडकमा ड्रेन निर्माण गर्न सके सडकका कारण हुने पहिरोमा कमी ल्याउन सकिने नेपालको पहाडी भूभागको अध्ययन गरेका जापानको कोची विश्वविद्यालयका प्राध्यापक बताउँछन् ।

सडक विकासको आधार हो तर विकासका नाममा अध्ययन विना नै सडक निर्माण गर्ने काम रोकिनु पर्छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement