बाँके । उच्च ज्वरोसँगै झाडापखाला लागेपछि समयमै उपचार नपाउँदा बाँकेको नरैनापुर गाउँपालिकामा एउटै घरका ३ सहित चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्यकर्मीले उपचार गराउन ढिला गरी ल्याउँदा उनीहरुको मृत्यु भएको बताएका छन् । तर मृतकका आफन्तहरुले स्वास्थ्य केन्द्रमा जाँदा सिटामोलबाहेक अरु औषधि नपाउँदा बिरामीको ज्यान गएको दाबी गरेका छन् । अहिले पनि नरैनापुरको वडा नं. ३ को गेगली बस्तीमा ५० जनाभन्दा बढी उच्च ज्वरोले थलिएका बिरामी छन् । धेरै जसो अस्पताल पुग्न सकेका छैनन् ।
नरैनापुर-३ मा पर्ने गेगली बस्तीका बासिन्दालाई एक सातादेखि उच्च ज्वरो आउने र पखाला लाग्ने जस्ता रोगका लक्षण देखिएका थिए तर कसैले वास्तै गरेनन् । बिरामीको अवस्था कमजोर हुँदा पनि उपचारका लागि अस्पताल पुर्याउनुको साटो घरेलु उपचार गराएर राख्दा चार जनाको ज्यान गएको हो ।
सबैलाई पेट दुखेर वान्ता आउने तथा पखाला लाग्ने भएको बिरामीका आफन्त रता पासवानले बताउनु भयो । वान्ता र पखालाले धेरै कमजोर बनाएको र घाँटी दुखेर खाना खान पनि अप्ठेरो भएक उनीहरूको भनाइ छ ।
नेपालगन्जदेखि ४५ किलोमिटर पूर्वी सीमा क्षेत्रको यो बस्तीमा उच्च ज्वरोले थलिएका अझै पनि धेरै जना बिरामी घरमै छन् । उनीहरुलाई अस्पताल लैजाने प्रयाससम्म भएको छैन । बल्लतल्ल अस्पताल पुगेकाहरुको भने स्वास्थ्यमा सुधार भएको छ । तर गाउँमा उच्च ज्वरो र झाडापखाला फैलिनुको कारण पत्ता लागेको छैन ।
यो बस्तीकी ३६ वर्षीया उषादेवी पासवानको त ज्वरो आएको २४ घण्टाभित्रै मृत्यु भएको थियो । गाई-भैंसीको गोठसँगै जोडिएका घर भएको यो वस्ती प्रदूषित देखिन्छ । त्यही कारण भाइरल ज्वरोसँगै पखालाको संक्रमण फैलिएको हुनसक्ने आशंका छ ।
बस्तीमा ज्वरो र झाडापाखाला फैलिँदा पनि सरकारले विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छैन । विपन्न अवस्थाका बिरामी उपचार गर्न नेपालगन्ज पनि आउन सकेका छैनन् । जसका कारण यो बस्तीका बासिन्दा जोखिममा परेका छन् ।