दाङ । दाङको घोराही उपमहानगरपालिका १७ कि चुमा आचार्यका श्रीमान थानेश्वर मुगुमा शिक्षक हुनुहुन्थो । बर्खे बिदा सकेर २०५९ साल साउन ३० गते घरबाट मुगु जाने क्रममा थानेश्वरलाई विद्रोही पक्षले बेपत्ता पार्यो । श्रीमान बेपत्ता भएको २२ वर्ष बित्यो तर उहाँको अवस्थाको जानकारी परिवारले कहीँकतैबाट पाउन सकेको छैन । श्रीमान बेपत्ता भएको २२ वर्षसम्म अनेकन पीडा त चुमाले खेप्नु परेको छ नै ससुराको नामको जग्गासमेत अहिलेसम्म आफ्ना नाममा ल्याउन सक्नुभएको छैन ।
दाङको दंगीशरण गााउपालिका ३ का मसुरी चौधरीका श्रीमान हरीराम चौधरी खेतीपातीका लागि रासायनिक मल लिन तुलसीपुर गएका बेला २०५९ जेठमा राज्यपक्षबाट बेपत्ता पारिनु भयो । आफन्तका घरमा कतै गए होलान् भनेर चित्त दुई तीन दिन चित्त बुझाएर बसेकी मसुरी श्रीमानलाई सेनाले बेपत्ता बनाएको भन्ने थाहा पाएपछि छाँगाबाट खसेझैँ हुनुभयो । गर्भमा हुर्किरहेको बच्चा जम्मिएर २२ वर्षको भइसक्दासमेत हरिरामको अवस्था मसुरीले थाहा पाउन सक्नुभएको छैन । जुनसुकै कार्यालयमा कामकाजमा जाँदा श्रीमान बेपत्ता भएको जानकारी दिँदा मृत्युदर्ता माग्न थालेपछि मसुरीले हैरान भएर वडाकार्यालयबाट न्यायिक मृत्यु दर्ता बनाउनु परेको छ ।
सशस्त्र द्वन्द्वका समयमा राज्य र तात्कालीन विद्रोही पक्षबाट दाङमा १ सय २६ जना बेपत्ता भएका छन् । हरेक वर्ष बेपत्ता पारिएकाहरु विरुद्धको दिवस मनाउदै गर्दा बेपत्ता परिवारलाई पुरानै घाउले बल्झाइरहन्छ । सरकारले द्वन्द्वकालीन विषयको टुंगो लगाउन टीआरसी विधेयक पास गरिसकेको छ । बेपत्ता पारिएकाहरुका पक्षमा अब कसरी काम हुन्छ त ?
मुलुक शान्ति प्रकृयामा अघि बढेको लामो समय बितिसक्दासमेत द्वन्द्वका बेला दुवै पक्षबाट बेपत्ता भएकाहरुको अवस्था सावर्जनिक नहुनु दुखद छ ।
सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाहरुका परिवार राज्यले अहिलेसम्म पनि आफन्तको यथार्थ अवस्थाको बारेमा जानकारी दिन नसेकोकोमा दुखी छन् । परिवारको सदस्य बेपत्ता भएको दुई दशकभन्दा बढी हुँदा पनि सास या लाशको टुंगो नलाग्दा घरपरिवारको बेचैनी बढ्दो छ ।
राज्यले परिवारको यथार्थ अवस्था जानकारी गराउन नसक्दा कतिले भएको जग्गा जमिन आफ्ना नाममा ल्याउन पाएका छैनन् भने कतिले न्यायिक मृत्युको घोषणासम्म गरेर आफ्ना कामहरु अघि बढाउन बाध्य भएका छन् ।